बनेपाको पुण्यमाता खोलामा पक्की पुल निर्माण सुरु

काभ्रे- काभ्रेको बनेपा नगरपालिकामा रहेको पुण्यमाता खोलामा पक्की पुल निर्माणको कार्य सुरु भएको छ । पालिकाको वडा नम्बर ८ र ११ जोड्न राधेराधे पुण्यमाता खोला सिनागालमा पक्की पुल निर्माण सुरु गरिएको हो ।

आर. एस. निर्माण सेवाले ५ करोड ५७ लाख ५५ हजार ८ सय २० रुपैँयामा २०८०/०६/२५ गते डेढ वर्षमा सक्नेगरी पुल निर्माणको जिम्मा लिएको छ । नवनिर्मित पुलको लम्बाइ २० मिटर र चौडाइ ८ दशमलब ४ मिटर रहेको छ ।

पुल पाइल फाउन्डेसनको आकारमा बनाइने आर. एस. निर्माण सेवाका प्रोजेक्ट म्यानेजर सुरज कुमार गौतमले बताउनुभयो । उहाँ भन्नुहुन्छ – “एकातिर १६ वटा अर्कोतिर १६ वटा पाइल राखिन्छ । पाइलको लम्बाइ २३ मिटरको हुन्छ । पाइलमाथि र्याप गरेर पिलर उठाएर बल्ल ढलान हुन्छ । सिग्नल इस्पामको पुल भएकोले दुइतिर खम्बा हुन्छ । बीचमा केही हुँदैन “।

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ

निर्माण भइरहेको नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने भएको छ । पुर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर धुब्र खुलाल थापाले पुल गुणस्तरीय नहुनुको मुख्य कारण निर्माण सकेपछि अन्तिम चरणमा मात्र गरिने अनुगमन रहेकोले सुरुदेखि नै अनुगमनलाइ प्रभावकारी बनाएर बलियो पुल बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो- “कार्यालयको ल्याब टेस्ट समूह सहितको टिमले समय समयमा अनुगमन गर्छौ र काम गर्ने क्रममा समस्या आएमा सम्बन्धित कार्यलायलाइ चिठि पठाउँछौ” ।

पुल निर्माण हुने भएपछि खुशी

पुण्यमाता खोलामा पक्किपुल निर्माण सुरु भएपछि बर्षौ देखि पक्की पुल नहुँदा समस्या झेली रहेका यस क्षेत्रका स्थानीयबासीमा खुशी छाएको छ । पुल बन्न बजेट सुनिश्चित भएपनि पटक पटक टेन्डर गर्दा पनि टेन्डर नपरेपछि स्थानीय समेत चिन्तित थिए । तर हालै टेन्डर स्वीकृत भइ ठेकेदार कम्पनीले निर्माण कार्य सुरु गरेपछि खुशी थपिएको हो ।

बनेपा नगरपालिकाको वडा नम्बर ११,१२ र पनौती नगरपालिका वडा नम्बर ४ मा ओहोरदोहोर गर्नुका साथै बनेपाबाट पनौती जाने विकल्पको रुपमा यस पुलले सहज हुने स्थानीय दिपक पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो – “पुल निर्माणको काम सुरु भएपछि हामीलाइ धेरै खुशी लागेको छ । यहाँ पक्की पुल नहुँदा बनेपा बजारबाट सिनागाल जान धेरै तल पुगेर मात्र सवारी यात्रा गर्नुपर्थ्यो । अब यो पुल बनेपछि धेरैलाइ सहज हुन्छ । त्यसैले पुलको निर्माण कार्य छिटो छरितो गर्न ठेकेदार कम्पनीलाई सबैले भन्नु पर्छ” ।

यसैगरी बनेपा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष शिव कुमार थापाले पक्कीपुल निर्माणमा लामोसमयदेखि लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो,- “संघीयता आएपछि भएको पहिलो निर्वाचनदेखि नै हामीले यहाँ पुलको आवश्यकता भएको महशुस गर्दै पुल बनाउन पहल गरि रह्यौं ।

तर विभिन्न कारणले ढिलाइ भएपनि हाल काम सुरु भएकोले खुशी छाएको छ । यो पुल बनिसकेपछि बनेपाबाट पनौती जाने सवारी साधन पनि विकल्पको रुपमा सहज र छिटोको पुग्न सक्छ । त्यसैले अरु पक्की पुलका ठेकेदार जस्तै लापरबाही गरेर कामको ढिलासुस्ती नगर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छौ र हामीले दैनिक अवलोकन पनि गरिरहेका छौ” ।

उहाँले भन्नुभयो,- “अब यी पुलको निर्माण कार्यका लागी कडा निगरानी गरी छिटो भन्दा छिटो निर्माण सक्न गर्नुपर्ने ठाउँमा प्रतिवद्द छु । हाल पुलको पाइल फाउन्डेसन गर्नलाइ मेसिनहरु ल्याइएको छ । खाल्डा खन्ने काम भइरहेको छ । यहाँ देखिएको समस्या समाधान गर्न आफु लागि पर्ने भएकाले निर्धारित समयभित्रै पुल निर्माण सकिन्छ भन्ने हाम्रो विश्वास छ । चाहिने सामनहरु आइरहेको छ” ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.