राष्ट्रियसभा सदस्यका लागि बागमतीमा १६ जनाको मनोनय

मकवानपुर- राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा १६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रदेशको राजधानी हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा ६ वटा राजनैतिक दलबाट १६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

माघ ११ गते हुने निर्वाचनमा यस प्रदेशबाट चारजना राष्ट्रियसभा सदस्य छनौट हुनेछ । निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गरेका छन् ।
गठबन्धन तर्फबाट नेपाली कांग्रेसले महिलामा बिष्णुदेवी पौडेल र अन्यमा जीतजंग बस्नेतलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीले दलिततर्फ घनश्याम रिजाललाई उम्मेदवार बनाएको हो ।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विश्वकर्मा, अपाङ्ग तथा अल्पसंख्यक क्लष्टरमा त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले दलिततर्फ पूर्णबहादुर विश्वकर्मा, महिलामा बालकुमारी डल्लाकोटी, अपाङ्गमा भरतमणि भट्ट र अन्यमा हेमजंग जुरुङलाई उम्मेदवार बनाएको छ ।

नेपाल मजदुर किसान पार्टीले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलितमा संगिता नेपाली, अपाङ तर्फ हिमालयश्वरलाल मुल र अन्यमा श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

बागमती प्रदेशबाट कुल ३ सय ३७ मतदाताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नेछन् । राष्ट्रियसभा निर्वाचनमा १ सय १० प्रदेशसभा सदस्य र १ सय १९ स्थानीय तहका २ सय ३७ प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

दोलखाको गौरीशैकर गाउँपालिकामा उपप्रमुख पद रिक्त छ । यस प्रदेशबाट फागुन २० बाट ४ जना राष्ट्रियसभा सदस्यको पदावधी सकिदैछ । खिमलाल देवकोटा, रामचन्द्र राई, दिलकुमारी रावल र सिगं बहादुर विश्वकर्माको पदावधी सकिन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.