चिस्यान केन्द्र नहुँदा सस्तोमै सुन्तला बिक्री गर्दै पाल्पाका किसान

पाल्पा- पाल्पाका किसानले डेढ दशकअघि सुन्तला भण्डारण गर्न चिस्यान केन्द्र स्थापनाको माग गरेको भएपनि बन्न सकेको छैन । किसानहरूको माग अनुसार सुन्तला भण्डारण गर्ने चिस्यान केन्द्र (कोल्ड स्टोर) बन्न नसक्दा किसानले सस्तोमा सुन्ताला बिक्री गर्न बाध्य भएका छन् ।
चिस्यान केन्द्रमा सुन्तला भण्डारण गरेर बेसिजनमा बिक्री गर्न सकेको भए यहाँका किसानले तेब्बर बढी आम्दानी गर्न सक्थे । तर चिस्यान केन्द्र नहुँदा सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानहरूको गुनासो छ ।
जिल्लाको सुन्तला अत्यधिक हुने क्षेत्र रैनादेवी छहरा, रिव्दीकोट, बगनासकाली गाउँपालिकाका किसानले सस्तोमै सुन्तला बिक्री गरेको बताएका छन् ।
चिस्यान केन्द्रको अभावमा सुन्तला भण्डारण गर्न नसक्दा सिजनमै प्रतिकिलो ४० देखि ७० रुपियाँ सुन्तला बिक्री गर्न बाध्य भएको रैनादेवी छहरा–४, अमलाबासका किसान टिकाराम पोखरेलले बताउनुभयो । पश्चिम पाल्पामा एउटा मात्र चिस्यान केन्द्र बनेको भएपनि यस भेगका सुन्तला किसानले राहत हुने किसानको भनाइ छ ।
चिस्यान केन्द्रको व्यवस्थापन नहुँदा बुटवल, भैरहवा, पोखरा, नारायणघाट, चितवनबाट आएका व्यापारीले तोकेको मुल्यमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानको भनाई छ ।
पाल्पाको तीन वटा पालिकाका अधिकांश वडाबाट वार्षिक १० करोड बढीको सुन्तला निर्यात हुने गरेको छ । चिस्यान केन्द्रको व्यवस्थापन भएको अवस्थामा हाल बिक्री भइरहेको सुन्तलाको मुल्यले तेब्बर बढी भाउ पाउने किसानको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्