गुल्मीको नयाँगाउँमा प्रहरीको आफ्नै भवन

गुल्मी- गुल्मी जिल्लाको नयाँगाउँमा प्रहरी चौकीको उद्‌घाटन गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-१ नयाँगाउँमा निर्माण सम्पन्न गरिएको प्रहरी चौकी भवनको शनिबार उद्घाटन गरिएको हो ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले एक कार्यक्रमको बीचमा प्रहरी चौकी नयाँगाउँ गुल्मीको उद्घाटन गर्नुभयो । व्यवस्थित र गुणस्तरीय भवन निर्माण गर्ने क्रममा प्रहरीले आफ्नै जग्गामा उक्त भवन बनाएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमार्फत जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गत धुर्कोट गाउँपालिकाको नयाँगाउँमा कुल दुई करोड ९९ लाखमा निर्माण सम्पन्न भएको इन्जिनियर प्रहरी नायब उपरीक्षक रोशन सारुले बताउनुभयो । प्रहरी चौकी नयाँगाउँको निर्माणको जिम्मा अर्जुन विल्डर्स एण्ड कन्स्ट्रक्सन गुल्मीले पाएको थियो ।

२०७९ साल पुस १४ मा सम्झौता भएको उक्त भवनको १३ पुस २०८० तोकिएकै मितिमा निर्माण सम्पन्न भएको थियो । प्रहरी चौकी नयाँ गाउँ उद्घाटनका क्रममा तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी विजय खनाललाई सम्मान गरिएको थियो ।

भवनमा कार्यालय, ब्यारेक, भान्साघर र शौचालय निर्माण सम्पन्न भएका हुन् । साढे दुई तलाको उक्त भवनमा तीन वटा कोठा ब्यारेकको लागि, महिला कर्मचारीका लागि छुट्टै शौचालयसहितको ब्यारेक, दोस्रो तलामा कार्यालय प्रमुखसहित सञ्चार शाखा तथा ब्यारेकको लागि, भान्छा घर र शौचालयसहित स्नान गृहको निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनुभयो ।

हाल जिल्ला भर प्रहरीका २७ वटा युनिट रहेका छन् । त्यसमध्ये ११ वटा प्रहरीका युनिट भाडाको भवनबाट सेवा दिंदै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.