पदमार्गका होटलहरु संकटमा
लमजुङ- विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गतका होटल व्यवसायीहरु संकटमा परेका छन ।
लमजुङदेखि मनाङसम्म पदमार्गसँगै बनेका होटलहरु कोरोना भाइरस संक्रमण जोखिमसँगै पर्यटक आगमन बन्द भएपछि व्यवसायिक संकटमा परेका हुन् ।
सिजनशुरु भएसँगै पर्यटन व्यवसायबाट नै जिविकोपार्जन गर्दै आएका होटल व्यवसायीहरु बर्षका दुवै सिजनमा पर्यटक आगमन शुन्य भएपछि ठूलो समस्यामा परेको बताउँछन् ।
अघिल्ला वर्षहरुमा पर्यटकीय सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गका होटलहरु भरिभराउ हुने यी होटल अहिले खाली छन् ।
हरेक वर्ष भदौको अन्तिम सातादेखिनै सदरमुकाम बेँसीशहरदेखि सर्वाधिक उचाईमा रहेको तिलिचो ताल र थोराङ भञ्ज्याङ पास गर्नका लागि दैनिक तीनसयभन्दा बढी पर्यटकहरु भित्रने गर्दथे ।
पर्यटक आगमन हुने मुख्य सिजनका बेला कोभिड–१९ को त्रासले आगमन शुन्य भएपछि होटल व्यवसायीहरु प्रत्यक्ष मारमा परेको व्यवसायी पञ्च गुरुङ बताउँछन ।
कोभिड–१९ को प्रभाव कम भएसँगै पुनः पर्यटन व्यवसायले निरन्तरता पाउने अपेक्षासहित अधिकांश व्यवसायीहरुले भने लकडाउनलाई सदुपयोग गर्दे व्यवसाय स्तरोन्नतीमा पनि लागेका छन् ।
होटल तथा रेष्टुरेण्ट स्तरोन्नती गरी भविष्यमा थप सेवा प्रवाहको तयारी गरेको पर्यटन व्यवसायीह नरबहादुर गुरुङको भनाइ छ ।
अन्नपुर्ण पदमार्ग अन्तर्गत बेँसीशहरदेखि खुदी, भुलभुले, ङाँदी, घेर्मु, स्याँगे, जगत, च्याम्चे लगायतका ठाउँहरुमा पर्यटक लक्षित होटलहरु रहेका छन् ।
पर्यटक आगमन घट्नुका साथै व्यवसाय ठप्प भएपछि होटल तथा रेष्टुरेण्टका श्रमिक व्यवस्थापन मुख्य चुनौति रहेको व्यवसायीहरुको भनाइ छ ।।
प्रतिक्रिया राख्नुहोस्