कास्कीको विरेठाँटीमा पर्यटन सूचना केन्द्र स्थापना

कास्की- कास्कीको विरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।
अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा गण्डकी प्रदेश सरकार तथा अन्नपूर्ण गाउँपालिकाको रु. ६० लाख लागत साझेदारीमा केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले केन्द्रको उद्घाटन गर्नुभयो । उहाँले अन्नपूर्णले गण्डकी प्रदेशकै नमूना कार्य थलानी गरेको दावी गर्नुहुँदै केन्द्र स्थापनासँगै पर्यटन क्षेत्रको विकासमा सार्थकता मिल्ने औँल्याउनुभयो ।
केन्द्रमा सहायता कक्ष, सेवा प्रवाह कक्ष, पर्यटन पुस्तकालय एवम् पर्यटन पोर्टल तथा मोवाइल एप्लिकेसन निर्माण गरी संचालनमा ल्याइएको छ ।
केन्द्रमार्फत अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
हाललाई त्यहाँ तीन जना कर्मचारी खटाइएको छ भने पर्यटनसँग सम्बन्धित त्यस क्षेत्रका सम्पूर्ण स्थान तथा भूगोलबारे जानकारी दिइनेछ ।
सो क्षेत्र भ्रमणमा जाने पर्यटकले अवदेखि अनिवार्य रुपमा सूचना केन्द्र पुगी आफ्नो नाम दर्ता गर्नु पर्नेछ ।
उद्घाटन कार्यक्रममा बीच केन्द्र निर्माणमा जग्गा दिने स्थानीय नवप्रतिभा आमा समूहलाई सम्मान पनि गरिएको छ ।
गाउँपालिकाको हालै बसेको कार्यपालिका वैठकले केन्द्र संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० पनि पारित गरेको छ ।
गाउँपालिकाले सीपमूलक तालिम अन्तर्गत त्यहाँका ३५ जना युवालाई यसअघि नै ट्रेकिङ गाइड तालिम पनि दिइसकेको छ ।।






प्रतिक्रिया राख्नुहोस्