भारतमा कोभिड-१९ बाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्ष माथिका व्यक्तिः स्वास्थ्य मन्त्रालय

काठमाडौं- भारतमा कोभिड-१९ सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ । आज संघीय स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उक्त कुरा बताइएको हो ।

मन्त्रालयका सचिव राजेश भूषणले तथ्याङ्क सार्वजनिक गर्दै भन्नुभयो, “कोभिड-१९ सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा माथि ६० वा सोभन्दा माथिको उमेर समूहका व्यक्ति रहेका छन् भने ३७ प्रतिशतभन्दा बढी ४५-६० वर्ष उमेर समूहका सङ्क्रमित रहेका छन् । त्यस्तै २६-४४ वर्ष उमेर समूहका ११ प्रतिशत र १८-२५ एक प्रतिशत र १८ वर्ष मुनिका एक प्रतिशत कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ ।”

“भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार २८६ रहेको र १२ लाख भन्दा बढी मानिस निको भई घर फर्किएका छन्,” सचिव भूषणले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमित मृतकहरूमा ६८ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला बिरामी रहेका छन्, जुन विश्वव्यापी परिदृश्यसँग मिल्दोजुल्दो छ ।”

भारतमा कोभिड-१९ बिरामीहरू निको भएकाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको र अहिले सक्रिय सङ्क्रमितको तुलनामा यो सङ्ख्या दोब्बर रहेको मन्त्रालयले जनाएको छ । भूषणका अनुसार अहिलेको मृत्यु दर पहिलो लकडाउनपछि सबैभन्दा निम्न रहेको छ ।

भारतमा विगत २४ घण्टामा छ लाख ६० हजार परीक्षण गरिएकोसहित अहिलेसम्म दुई करोडभन्दा बढीको कोभिड-१९ सङ्क्रमण परीक्षणहरू गरिएको छ ।

“भारतमा लकडाउनपछि पहिलो पटक मृत्युदर २.१० प्रतिशत अर्थात् सबैभन्दा कममा झरेको र यसलाई राम्रो सङ्केतका रूपमा मन्त्रालयले लिएको छ,” उहाँले भन्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.