कोरोना जोखिमले सिंहदरवार प्रवेशमा कडाइ

काठमाडौं– उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भइरहेकाबेला गृह मन्त्रालयले सिंहदरवार प्रवेशमा कडाइ गरेको छ ।
सिंहदरवारमा भेटघाटका लागि मात्रै आउजाउ गर्नेहरुलाई नियन्त्रण गर्न प्रवेश कडाइ गरिएको हो । महानगरी प्रहरी प्रभाग सिंहदरवारका डीएसपी सुवासचन्द्र बोहराका अनुसार फोन र अनलाइन पास बन्द गरिएको छ । ‘सामान्य खालका भिजिटरलाई रोकिएको हो,’ उहाँले नेपालटीभी अनलाइनसँग भन्नुभयो। उहाँले नेपालटीभी अनलाइनसँग भन्नुभयो, ‘सम्बन्धित कार्यालयले पत्र लेखेर पठाएको अवस्थामा भने महत्वपूर्ण काममा आउने भिजिटरलाई रोकिँदैन ।’
चियाखाजा र सामान्य भेटघाटका लागि अनावश्यक भीड बढेपछि जोखिम अवधिभर कडाइ गरिने डीएसपी बोहराले भन्नुभयो ।
प्रहरीले सिंहदरवारभित्र निर्माणाधिन भवनमा काम गर्ने कामदारलाई पनि भित्रबाहिर गर्न नदिने जानकारी गराएको छ । कामदार भित्रबाहिर आउजाउ गर्दा संक्रमण जोखिम रहेकाले त्यस्ता कामदारको आवागमनमा पनि कडाइ गरिएको हो ।
बोहराले कर्मचारीको सवारीमा सिंहदरवार प्रवेश गर्ने अन्य आगन्तुकलाई पनि रोक्ने निर्णय भएको छ ।






प्रतिक्रिया राख्नुहोस्