आआईपीएलः हिजोका खेलहरूमा रोयल च्यालेञ्जर्स र दिल्ली विजयी, जितसँगै दिल्ली शीर्ष स्थान

काठमाडौं- इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति दुई खेलहरू भएका छन् । यूएईको शेख जायद रंगशालामा आयोजना भएको पहिलो खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेञ्जर्स ब्याङ्ग्लोर विजयी भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । एक सय ५५ रनको लक्ष्य पाएको ब्याङ्ग्लोरले पाँच बल बाँकी छँदै मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।

कप्तान विराट कोहलीले अविजित रहँदै ७२ रन जोडे भने देवदत्त पडिक्कलले ६३ रन बनाए । हालसम्म चार खेल खेल्दा तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक जोडेको ब्याङ्ग्लोर अंकतालिकाको दोस्रो स्थानमा छ ।

त्यस्तै हिजै साँझ भएको अर्को खेलमा दिल्ली क्यापिटल्स विजयी भयो । शारजाह क्रिकेट रंगशालामा भएको दोस्रो खेलम नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्लीले कोलकाता नाईट राइडर्सलाई मात्र १८ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गर्न सफल भयो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको दिल्लीले चार विकेटको क्षतिमा २२८ रन जोड्यो । कोलकाताले भने ८ विकेट गुमाउँदै २ सय १० रन मात्र बनाउन सक्यो । सन्दीप भने हिजोको खेलमा पनि प्लेयिङ इलेभेनमा परेनन् । हालसम्म तीन खेलमा जित र एकमा हारेको दिल्ली हिजोको खेल जितेपछि तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यसैबीच आईपीएलमा आज पनि दुई खेलहरू हुँदैछन् । नेपाली समायानुसार दिउँसो तीन बजेर ४५ मिनेटमा शुरू हुने पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स तथा सनराईजर्स हैदरावादबीच खेल हुँदैछ । त्यस्तै साँझ साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुने दोस्रो गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्स तथा किङ्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.