खोप लगाउन ज्येष्ठ नागरिकको जाँगर

तनहुँ- तनहुँको भीमाद नगरपालिका-९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङ्मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुग्नुभयो ।

त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उहाँलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए । खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा उहाँले आधा घण्टा टेलिभिजन हेरेर बिताउनुभयो । वडाले खबर गरेपछि ढुक्क भएर खोप लगाउन आएको उहाँको भनाइ छ । “सबैले लगाएको खोप लाउनलाई केका डर”, उहाँले भन्नुभयो ।

शुक्लागण्डकी-३ कवासेका ७२ वर्षीय कमलराज शर्मा पौडेलले दुलेगौँडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा पुगेर खोप लगाउनुभयो । पहिला ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनेभन्दा उहाँलाई शङ्का लाग्याथ्यो रे ।

“पहिला त सरकारले ६५ वर्ष माथिकालाई खोप दिने भन्दा केही खतरा भएर मरेनी यिनै बूढाबूढी पहिला मरुन् भनेर होला कि भन्ने शङ्का नि थियो । पछि ठूलाठूला मान्छेले नि लगाए रे भनेसी त्यस्तो होइन भन्ने भो”, उहाँले भन्नुभयो, “आज त आफैँले पनि ढुक्क भएर खोप लगाएको छु ।” खोप लगाएपछि कोरोना लाग्दैन भन्ने उहाँलाई लागेको छ ।

फागुन २३ गतेदेखि दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘कोभिशिल्ड’ लगाउने अभियान देशभर चलेको छ । सोहीअनुसार तनहुँमा पनि खोप अभियान चलेको छ । खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ ज्येष्ठ नागरिक लौरीको सहारामा आएका छन् ।

कतिलाई आफन्तले खोप लाउन डोर्‍याउँदै ल्याएको देखिन्छ । ज्येष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाइको व्यवस्था मिलाइएको छ । कतिपय स्थानमा खोप केन्द्र टाढा हुँदा सास्ती भोग्नुपरेको छ । ग्रामीण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुँदा बुढेसकालमा घण्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

खोप लगाउन ज्येष्ठ नागरिकको सक्रिय सहभागिता रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताउनुभयो । उहाँले भन्नुभयो, “बूढाबूढीलाई पनि सरकारले प्राथमिकता दिएर खोप लगाउन दियो भन्दै खुशी व्यक्त गर्नुभएको छ ।”

तनहुँमा फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकामा र फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान चलिरहेको छ ।

१७ हजार ज्येष्ठ नागरिकलाई खोप

नौ दिनको अवधिमा जिल्लाका १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ । पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका नौ हजार २६७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार पहिलो चरणमा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका नौ हजार २६७ लाई खोप लगाइएको छ ।

दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका सात हजार ७४६ जनालाई खोप लगाइएको छ । यस अवधिमा १५ हजारभन्दा बढी नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

दश पालिकामा खोप लगाउनका लागि ९४ खोप केन्द्र निर्धारण गरिएको थियो । यसक्रममा २६६ स्वास्थ्यकर्मी र ४२५ स्वयंसेवक परिचालन गरिएको छ । खोप अभियान आज पनि जारी रहने कार्यालयले जनाएको छ । सबै पालिकामा खोप अभियानको चिकित्सकसहित एइएफआई टिम परिचालन गरिएको छ ।

तनहुँमा पहिलो चरणमा चार हजार ९६७ जनाले खोप लगाएका थिए । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, पत्रकारलगायतलाई खोप लगाइएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.