भारतमा कोरोनाको लहर चरम सिमामा पुगेपछि आइपीएल खेलाडीहरु खेल छाडी घर फर्किन थाले

इन्डियन प्रिमियर लिग आइपीएलको गएराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाव किङ्सलाई ५ विकेटले पराजित गरेको छ ।

अहमदावादको नरेन्द्रमोदी स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाव निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रनमा समेटिएको थियो । पञ्जावलाई सस्तैमा समेट्न कोलकाताका प्रशिद्ध कृष्णाले ३ विकेट, पाट कमिन्स र सुनिल नारायणले २-२ विकेट लिएका थिए ।

१२४ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको कोलकाताले १६ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । कोलकाताका लागि कप्तान इयोन मोर्गनले ४० बलमा अविजित ४७ रनको पारी खेल्दै म्यान अफ द म्याच घोषित भएका थिए ।

अंक तालिकाको पुछारमा रहेको कोलकाता यो जीतसँगै अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ । कोलकाताले ६ खेलमा चारमा हार दुई जीत निकालेको छ । पञ्जाव भने यो हारसँगै छैटौं स्थानमा पुगेको छ ।

भारतमा कोरोनाको दोस्रो लहर चरम सिमामा पुगेको कारण केही खेलाडीहरु भने खेल छाडी आफ्नो घर फर्किन थालेका छन् ।

आइपीएल छाड्ने अष्ट्रेलियन खेलाडीहरुमा रोयल च्यालेन्जर्स बेंगलोरका एडम जाम्पा, केन रिचार्डसन र राजस्थानका एन्ड्र्यु टाइ रहेका छन् भने भारतीय खेलाडी दिल्लीका रविचन्द्रन अश्विनले पारिवारिक कारण देखाई खेल छाडेका छन् । आज साँझ भने दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोर आमनेसामने गर्दैछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.