फ्रान्स युरोकप फुटबलको नकआउट चरणमा

फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । निकै रोमाञ्चक प्रतिष्पर्धामा फ्रान्सका करिम बेन्जिमा र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले दुई/दुई गोल गरे । खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

फ्रान्सका गोलकिपरले पेनाल्टी क्षेत्रमा फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलका नेल्सन सेमिडोले फ्रान्सेली स्ट्राईकर एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीको अवसरलाई बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफको ४८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । त्यसपछि, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-२ गोलको बराबरीमा ल्याए । यो गोलसंगै रोनाल्डोले हालसम्म १४ गोलगरी युरोकपमा सबैभन्दा बढी गोल गर्ने किर्तिमानी अझ बढाए ।

बराबरीमा सकिएको खेलमा समूह विजेता बन्दै फ्रान्स अन्तिम १६ नकआउट चरणमा प्रवेश गरेको छ भने पोर्चुगल पनि समूहको तेश्रो बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । सोही समूहको जर्मनी र हंगेरीबीचको खेल पनि २/२ गोलको बराबरीमा सकियो । हंगेरीसंग बराबरीमा खेलेको जर्मनी समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अघिल्लो खेलमा च्याम्पियन पोर्चुगललाई ४-२ गोलले हराएको जर्मनी तुलनात्मक रुपमा कमजोर ठानिएको हंगेरीले भने निकै अप्ठ्यारोमा पारेको थियो । शुरुमै अग्रता दिलाएको हंगेरीले जर्मनीलाई बराबरीमा रोकेपनि अन्तिम १६ मा भने पुग्न सकेन ।

यसैगरी समूह ‘ई’ मा स्विडेन विजेता र स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा पुगे। समूह चरणको अन्तिम खेलमा स्पेनसँग ५-० ले पराजित भएको स्लोभाकिया ३ अंक जोडे पनि उत्कृष्ट तेस्रो टिम हुन सकेन। स्लोभाकिया युक्रेनसँग गोलअन्तरमा पछि पार्‍यो। स्विडेन भने पोल्याण्डलाई ३-२ गोलले पराजित गरेपछि समूह विजेता बन्न सफल भयो ।
नकआउट चरणका खेलहरु पर्सी शनिवारदेखि हुँदैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.