नेपालको दुई विकेटको रोमाञ्चक जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी माथि दुई विकेटको रोमाञ्चक जित दर्ता गराएको छ । यूएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा दुई सय पाँच रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव २ ओभरमा आठ विकेट गुमाउँदै दुई सय १० रन बनायो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ५८ रन बनाउनुभयो । आरिफ शेखले ५३ रन बनाउनुभयो । एकदिवसीय क्रिकेटमा रोहित र आरिफले एक सय दुई रनको कीर्तिमानी साजेदारी समेत गर्नुभएको छ । करण कोसीले अविजित २९, आशिफ शेखले १६, विनोद भण्डारीले १२, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान आठ आठ र बनाउनुभयो । बलिङमा पीएनजीका अलेई नाओ, नोरमान भानु र रिले हेकुरेले दुई दुई विकेट लिनुभयो । असद भाला र चद सोपरले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रन बनाउनुभयो । चद सोपरले ३५, ओपनर टोनी उराले २७, लेगा सियकाले २५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाउनु भयो ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक एक विकेट लिनुभयो । लिग–२ मा नेपालले नौ खेल खेल्दै पाँच जित र चार हार खेपेको छ । १० अंक बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा यथावत छ । नेपाल लिगमा कम खेल खेल्ने टोली पनि हो । पीएनजीले भने अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन ।

सिरिजमा नेपालले मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । सात टोली सहभागी लिग–२ मा सबै राष्ट्रले एकआपसमा ३६ वटा खेल खेल्नेछन् । ३६ खेलपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.