पहिलो खेलमै रियल मड्रिडको जीत

स्पेनिश लालिगा फुटबल लिगमा साविक विजेता रियल मड्रिडले नयाँ सिजनको पहिलो खेलमै जीत निकालेको छ ।
आज बिहान भएको खेलमा घरेलु टोली अलमेरियालाई रियलले २-१ गोलको जीत निकाल्दै सुखद सुरुवात गरेको हो । खेल सुरु भएको छैटौं मिनेटमै बेल्जियम सेन्टर फरवार्ड लार्जी रामाजानीले गोल गर्दै अलमेरियालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ १-० गोलले पछि परेको रियलले दोस्रो हाफको ६६औं मिनेटमा राइट ब्याक लुकास भास्कवेजले कप्तान करिम बेन्जामेको पासलाई गोल गर्दै रियललाई बराबरीमा पुर्याएका थिए । खेलको ७५औं मिनेटमा रियलले पाएको फ्रि किकलाई सेन्टर ब्याक डेभिड अलावाले सिधै प्रहार गर्दै गोल गरेपछि रियलले पुनरागमन जीत निकाल्न सफल भएको हो ।
यो जीत सँगै रियल मड्रिडले आफूलाई नयाँ सिजनको दावेदारको रुपमा प्रस्तुत गर्दै तीन अंक जोडेको छ । यता बार्सिलोना राओ भालेकानोसँग गत शनिवारको खेलमा बराबरीमा रोकिएपछि नयाँ सिजनको पहिलो चरणमै रियल बार्सालाई पछि पार्न सफल भएको छ ।





प्रतिक्रिया राख्नुहोस्