भरतपुरमा प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु

चितवन : चितवनको भरतपुरमा प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ सुरु भएको छ । देशभरका ४० बढी जिल्लाबाट सात सय १० जना खेलाडी सहभागी भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभयो ।
बिहीबार भरतपुर कभर्डहलमा प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख दाहालले खेलाडीहरूले भरतपुर महानगरपालिकाले खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरूलाई निरन्तरता दिइरहेको बताउनुभयो । भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाधीन, एक वडा एक खेल मैदान निर्माण, कभर्डहल निर्माण लगायतका कामले प्राथमिकता पाइरहेका दाहालको भनाइ छ । खेलकुदको पूर्वाधार निर्माणसँगै भरतपुर महानगरपालिकाले दक्ष खेलाडी उत्पादन गर्नका लागि विद्यालय तहबाटै खेलकुदका गतिविधि बढाइरहेको दाहालले बताउनुभयो ।

“हामीले विद्यालय स्तरीय लिग प्रतियोगिताहरू आयोजना गरेका छौँ” उहाँले भन्नुभयो, “विगतको वर्षमा क्रिकेट लिग र फुटबलको लिग गरेका थियौँ, यो वर्ष पनि गर्ने तयारीमा छौँ ।” यही पुस महिनामा नै विद्यालय स्तरीय मेयर कप क्रिकेट लिग सञ्चालन गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । विद्यालय स्तरबाट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यका साथ महानगरपालिकाले खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले खेलकुद भनेको नागरिकलाई अनुशासन सिकाउने माध्यम भएको बताउनुभयो । समाजमा दुर्व्यसनी निर्मूल पार्न खेलाडी र खेलकुदको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । मुलुकको विकास र सुरक्षासँग खेलकुद जोडिएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

कार्यक्रममा भरतपुर–२४ का वडाध्यक्ष राम गोदारले खेलाडीहरू राष्ट्रका गहना भएकाले खेलाडीहरूको सम्पूर्ण दायित्व स्थानीय सरकारले उठाउनुपर्नेमा जोड दिनुभयो । आफू भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य समेत भएकाले नीति बनाउने क्रममा खेलाडी अनुकूल हुने गरी बनाउन भूमिका खेल्ने उहाँको भनाइ छ । कार्यक्रममा भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका सदस्य जयदेव पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ४० स्वर्णपदकका लागि महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा प्रतिस्पर्धा हुने भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले बताउनुभयो । पुम्सेतर्फ १० वटा स्वर्णपदक र क्यारोगी (फाइट)तर्फ ३० वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा खेलाडीले प्राप्त गरेको पदकका आधारमा पहिलो हुने डोजाङले रु ५० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र, दोस्रो हुने डोजाङले रु ३० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र तथा तेस्रो हुने डोजाङले रु २० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी एक÷एक जना उत्कृष्ट पुरुष र उत्कृष्ट महिला खेलाडीलाई रु पाँच हजार प्रदान गरिने भन्दै विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको उत्कृष्ट रेफ्रीलाईसमेत नगदसहित सम्मान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.