पर्वतको महाशिलामा नसर्ने रोगको स्क्रिनिङ शिविरमा ६ सय ५३ जना लाभान्वित

पर्वत-  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा पर्वतको महाशिला गाउँपालिकाको समन्वयमा महाशिला गाउँपालिकामा सञ्चालित एक दिन नसर्ने रोगको स्क्रिनिङ शिविर सम्पन्न भएको छ । शिविरमा ६ सय ५३ जनाले सेवा लिएका छन् ।

नसर्ने रोगहरूको दुहिदिने बृहत् स्क्रिनिङ शिविरमा सुगर, प्रेसर, रगत, पिसाब, खकारलगायत नसर्ने रोगको परीक्षण गरिएको थियो । ग्रामीण भेगका नागरिकहरूलाई गाउँघरमै नसर्ने रोगको उपचार सेवा तथा विभिन्न प्रकृतिका रोगहरूको बारेमा सचेतना फैलाउने उद्देश्यले शिविर सञ्चालन गरिएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । उहाँले स्वास्थ्य परीक्षणका लागि पोखरा, स्याङ्जा लगायतका स्थानमा पुग्नुपर्ने र एक पटकको यात्रामा मात्रै ५ देखि १० हजार सम्म सर्वसाधारणले रकम खर्च गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको बताउनुभयो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशका ११ वटै जिल्लामा क्रमिक रूपमा शिविर सञ्चालन गरिने योजना रहेको बताउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिन र स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो ।

एक दिन मात्रै सञ्चालन भएको शिविरमा ४० वर्ष भन्दा माथिका ६ सय ५३ जनाले परीक्षणका लागि रगत तथा स्वाब सङ्कलन गराएका थिए । यसरी सङ्कलन गरिएको रगत तथा स्वाबलाई प्रदेश अस्पताल पर्वतमा दुई दिन सम्म परीक्षण गरी सम्बन्धित नागरिकलाई जनाकारी गराइने महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बरालले बताउनुभयो । उहाँले महाशिला गाउँपालिकामा नसर्ने रोगका दीर्घ बिरामीहरू धेरै भेटिएका कारण शिविरबाट थप स्वास्थ्य अवस्थाबारे जानकारी लिइने बताउनुभयो ।

महाशिला गाउँपालिकाले पालिका भित्र पर्ने ६ वटै वडामा सवारी साधन मार्फत नागरिकहरूलाई शिविर सम्म ल्याएर परीक्षण गराएको थियो । पालिकाले आगामी वर्ष थप प्रभावकारी रूपमा शिविर सञ्चालन गर्ने र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको अध्यक्ष भुसालले बताउनुभयो ।

शिविर सञ्चालनका लागि प्रादेशिक स्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य कार्यालय पर्वत, प्रदेश अस्पताल पर्वत लगायतले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.