कर्णालीमा उकालो चढ्दै डेंगु ः सुर्खेतमा गत वर्ष ४ को मृत्यु, दई हजार बढी संक्रमित

सुर्खेत-  केही वर्ष पहिले मनसुनपछि छिटपुट मात्रा देखिने डेंगी अहिले कर्णालीमा उकालो चढ्न थालेको छ । यस वर्ष पनि डेंगी संक्रमण जेठदेखि नै क्रमशः बढ्दै गएर असोजसम्म उच्च रहने अनुमान गर्दै स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले डेंगी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्य योजना बनाएको हो ।

डेंगुको संक्रमण विस्तारै कर्णालीका पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेपछि संक्रमण रोकथामका उपायहरु अवलम्वन गरिएका छन् । पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्ने भने प्रदेशका १० वटै जिल्लामा डेंगी फैलिसकेको छ । अहिले वर्षभर नै कर्णालीमा डेंगी देखिन थालेपछि कीटजन्य रोगको पहिलो सूचीमा राखेर सबै जिल्लामा प्रतिरोधात्मक अभियानहरु सञ्चालन गरिएका छन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएको आर्थिक वर्ष २०८१÷०८२ मा कर्णालीका मुगु बाहेक नौ जिल्लामा २ हजार ३ सय ५५ जना संक्रमित भेटिएका थिए । ती मध्य सबै भन्दा धेरै प्रदेश राजधानी सुर्खेतमा २ हजार ७९ जना, रुकुम पश्चिममा १ सय ४३ जना, सल्यानमा ६९ जना, कालिकोटमा २६ जना, जाजरकोटमा २२ जना, दैलेखमा ७ जना, डोल्पामा ६ जना, जुम्लामा २ जना र हुम्ला १ जना संक्रमित फेला परेका छन् ।

त्यस्तै त्यस अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा कर्णालीका जुम्लाबाहेक नौ जिल्लामा एक हजार ४ सय ६८ जना संक्रमित फेला परेका थिए । ती मध्ये सबै भन्दा धेरै सुर्खेतमा ७ सय ५ जना, रुकुम पश्चिममा ४ सय ३ जना, जाजरकोटमा २ सय ७९ जना, सल्यानमा ४९ जना, कालिकोटमा ११ जना, डोल्पामा ९ जना, दैलेखमा ९ जना, हुम्लामा २ जना र मुगुमा १ जना फेला परेका हुन् ।

त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा समेत कर्णालीको जुम्ला र सल्यानबाहेक आठ जिल्लामा २ हजार १ सय ३४ जना फेला परेका थिए । ती मध्य सबै भन्दा बढी सुर्खेतमा १ हजार ९ सय ७६ जना, रुकुम पश्चिममा ९९ जना, जाजरकोटमा ३० जना, डोल्पामा १३ जना, कालिकोटमा ५ जना, दैलेखमा ५ जना, मुगुमा ४ जना र हुम्लामा २ जना फेला परेका थिए ।

स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्यामलाल आचार्यले कर्णालीका हिमाली जिल्लाहरुमा समेत डेंगु संक्रमणको जोखिम उच्च बन्दै गईरहेको जनाउनु भयो । उहाँले लामखुट्टेको टोकाइबाट सर्ने र संक्रमण हुने रोगहरु हिमालमा पनि देखिन थालेको बताउनु भयो । चिसो मौसमका कारण विगतमा हिमाली क्षेत्रमा नदेखिने रोगहरु हिजोआज देखिन थालेको उहाँको भनाइ छ । तापक्रम वृद्धि भएसँगै हिमालमा पनि कीटजन्य रोगहरु देखिन थालेपछि स्वास्थ्यकर्मीहरु चिन्तित बनेका छन् ।

निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको सुरुवातसँगै कर्णालीमा हालसम्म ५० जनामा डेंगुको संक्रमण भएको छ । बदलिँदो मौसमका कारण कर्णालीका प्रायः जिल्लाहरुमा डेंगुको संक्रमण् फैलिंदो क्रममा रहेको चिकित्सकहरुको भनाइ छ । प्रदेश राजधानी सुर्खेतमा बर्सेनि डेंगु संक्रमण बढ्दो क्रममा रहेको छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका मलेरिया इन्सपेक्टर निरीक्षक उदयबहादुर विसीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा हजार नौ सय ५२ जनामा डेंगु परीक्षण गरियो भने २०८१÷०८२ मा १४ हजार ३७ जनामा परीक्षण गरिएको थियो । जसमा गएको आवमा २ हजार ७९ जना र त्यस अघिल्लो आवमा ७ सय ५ जनामा डेंगु देखिएको विसीले बताउनु भयो । सबैभन्दा बढी डेंगुको जोखिममा जिल्ला सदरमुकाम वीरेन्द्रनगर नगरपालिका रहेको छ ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका बढी जोखिममा रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । गएको आवमा डेंगुका कारण ४ जनाको मृत्यु भएको विसीले बताउनु भयो । वीरेन्द्रनगर नगरपालिकाका–२, बराहताल गाउँपालिका १ जना, गुर्भाकोट नगरपालिका १ जनाको मृत्यु भएको थियो । डेंगु नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र परीक्षण पनि बढाउँदै लिएको कार्यालयले जनाएको छ ।

सुर्खेत जिल्लामा पनि श्रावण महिना–डेंगी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान घोषणा कार्यक्रम अन्तर्गत विविध क्रियाकलापसहित सञ्चालन गरिरहेको मलेरिया निरीक्षक विसीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.