विदुर नगरपालिकामा ७७ जना क्षयरोगी

–आठ वटा केन्द्रमार्फत उपचार

नुवाकोट-  नुवाकोटको विदुर नगरपालिकामा आठ वटा केन्द्रमार्फत क्षयरोगीको उपचार भइरहेको छ । १३ वटा वडा रहेको विदुर नगरपालिकामा ७७ जना क्षयरोगी रहेको पहिचान भएको छ ।

विदुर नपाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित “क्षयरोग वार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम” मा उक्त जानकारी दिइएको हो । उक्त कार्यक्रमको विदुर नपाकी   उपमेयर  प्रभा बोगटीले उद्घाटन गर्दै मानवीय स्वास्थ्य सुरक्षाको मजवुतीका लागि विदुर नपाले स्वास्थ्य सचेतना सम्बन्धी विविध कार्यक्रम गरिरहेको बत्ताउनुभयो ।

विदुर नपामा पहिचान भएका ७७ जना क्षयरोगीलाई  स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार सेवा प्रदान भइरहेको छ । विदुर नगरपालिकामा प्रत्यक्ष निगरानीमा क्षयरोगका बिरामीहरूलाई उपचार गरिने केन्द्र आठ वटा रहेका छन् ।

जसमा चार घरे स्वास्थ्य चौकी, खड्ग भन्ज्याङ, कल्याणपुर, तुप्चे, नुवाकोट र गेर्खु स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र घण्टाघर, डट्स क्लिनिक त्रिशूली अस्पताल रहेको जनस्वास्थ्य निरीक्षक राम राजा भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा  विदुर नपा सामाजिक बिकास समितिका संयोजक तथा विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल,  जनस्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन कृष्णप्रसाद रिजाल  विदुर नपाका जनस्वास्थ्य निरीक्षक राम राजा भण्डारी तथा क्षयरोग उपचार केन्द्र सञ्चालन रहेका स्वास्थ्य केन्द्रका इन्चार्ज  तथा  क्षयरोग फोकल पर्सनहरूको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा विदुर नपाभित्र क्षयरोग नियन्त्रण तथा रोकथामका क्षेत्रमा विगतमा भएका उपलब्धि, सामना गर्नुपरेका चुनौतीहरू तथा आगामी दिनमा यसको प्रभावकारी नियन्त्रण कार्य योजनाका सम्बन्धमा छलफल गरिएको थियो ।

यसका साथै, प्रत्येक क्षयरोग उपचार केन्द्र सञ्चालन रहेका स्वास्थ्य संस्थाबाट सङ्कलित तथ्याङ्कको समीक्षा गर्दै विश्लेषण समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.