ग्रामीण पर्यटनको विकासमा जुट्दै उत्तरी धादिङको खनीयाँवास गाउँपालिका

धादिङ – ऐतिहासिक स्थलहरुको संरक्षणमा स्थानीय तहसँगै धादिङका स्थानीय पनि जुट्न थालेका छन् । पर्यटन प्रवर्धनका लागी स्थानीय तहसँगै स्थानीय पनि एक जुट भएर लागेका हुन् ।
ग्रामीण पर्यटन प्रवर्धनका लागी खनीयाँवास गाउँपालिकाले सुरु गरेको अभियानसँगै राजधानी काठमाण्डौँमा बसी विभिन्न पेसा व्यवसाय गरिबस्ने खनीयाँवासका स्थानीय पनि एक जुट भएर लागेका हुन् । पछिल्लो समय जिल्लाको पर्यटन प्रवर्धनका लागी ऐतिहासिक स्थल र पौराणिक महत्वका बस्तुहरूको संरक्षण सम्वद्र्धन र सोको प्रवर्धनका लागी पालिका लागेको हो ।
यससँगै खनीयाँवास गाउँपालिकाले पूर्वाधार निर्माणसँगै प्रचार प्रसार जुटेको गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनु भयो। तर आफ्नो स्थानीय तह भित्र भेटिएका पुरातात्तीक महत्वका बस्तुहरूबारे जानकारहरू गाउँमा नहुँदा भने निकै समस्या हुने गरेको उहाँ बताउनु हुन्छ ।
खनीयाँवास गाउँपालिका भित्र धार्मिक महत्वका ताल, कुण्ड, विभिन्न भाषामा लेखिएको लिपिलगायत गुफाहरू रहेका छन् । यसको प्रवर्धन र प्रचार प्रसार गर्नका लागी यस बारे जानकार नहुँदा समस्या थपिएको हो । यस स्थानीय तहले अहिले ऐतिहासिक ल्याक्चे कुण्ड, यहाँ रहेको मन्दुङ्ग र मन्दुरमा रहेका पुरानो लिच्छवि कालीन लिपि संरक्षण गर्न थालेको छ , भने मोती गुफाको समेत संरक्षण सुरु गरिएको छ ।
योसँगै पर्यटकीय पूर्वाधार निर्माणमा समेत स्थानीय तह लागेको छ । यहाँ अहिले घर वास कार्यक्रम समेत सुरु गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । जस्ले गर्दा गणेश हिमाल पद यात्रामा जान आउने पर्यटकहरूलाई सुविधा पुग्नुका साथै स्थानीयको आय आर्जनमा समेत वृद्धि गर्न सकिने स्थानीय तहको दावी छ । अधिकांश तामाङ र गुरुङ समुदायका मानिसहरूको बसोबास रहेको उत्तरी धादिङलाई पर्यटनको निकै सम्भावना बोकेको स्थानको रूपमा हेरिन्छ ।






प्रतिक्रिया राख्नुहोस्