वीरगञ्जमा कोरोना संक्रमणको संत्रास, १२ सय बढी कैदी रहेको कारागारका ८ जनामा संक्रमण
वीरगञ्ज महानगर प्रमुख पनि संक्रमित

पर्सा- पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् । स्थानीय समाजसेवी तथा राजनीति दलका प्रतिनिधिले चिकित्सकसहितको विज्ञ टोलीको माग गरेका हुन् ।
पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनालगायत ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि अहिले १०० भन्दाबढी सङ्क्रमित घरकै आइसोलेशनमा रहेका छन् ।
पचास शैय्याको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ६० जनाभन्दा बढी सङ्क्रमितलाई राखिएको छ । लक्षणसहितका सङ्क्रमित बढी देखिएकाले अवस्था जटिल बन्दै गएको जनस्वास्थ्य विज्ञ बताउँछन् ।
यसैबीच वीरगञ्ज कारागारमा एक महिलासहित आठ जनामा कोरोना सङ्क्रमण भेटिएपछि कारागार सिल गरिएको कारागार प्रमुख (जेलर) श्रवणकुमार पोखरेलले बताउनुभयो ।
सङ्क्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्ष (उपचार केन्द्र) मा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन् । ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द रहेको जनाइएको छ । कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशङ्का कारागार प्रशासनले गरेको छ ।-
वीरगञ्ज महानगर प्रमुख पनि संक्रमित
वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको बीरगंजमै स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।
परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी मेयर सरावगीले दिनु भएको छ । उहाँ हाल ‘काठमाडौंको एक अस्पतालमा उपचाररत हुनुहुन्छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आउनु भएको थियो ।-






प्रतिक्रिया राख्नुहोस्