भारत १ सय ९० जना सवार विमान दूर्घटना, १७ जनाको मृत्यु
काठमाडौं- चालकदल सहित १ सय ९० जना सवार एअर इन्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य केरलामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या कम्तीमा १७ पुगेको छ ।
ज्यान गुमाउनेमा दुई जना पाइलट रहेको एअर इन्डिया एक्सप्रेसले जनाएको छ । भारतीय उड्डयन अधिकारीहरूका अनुसार संयुक्त अरब एमिरेट्सको दुबईबाट उडेको एअर इन्डियाको उक्त बोइङ ७३७ विमान क्यालिकट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।
ठूलो पानी परेकाले विमान धावनमार्गमा चिप्लिएको र त्यसपछि बजारिएर दुई टुक्रा भएको समाचारमा जनाइएको छ । विमानमा कोरोनाभाइरसका कारण विदेशमा अलपत्र परेर उद्धार गरिएका भारतीय नागरिकहरू चढेका थिए ।
कैयौँ मानिस घाइते भएका र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमान दुर्घटनाले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ ।-
प्रतिक्रिया राख्नुहोस्