धनकुटामा उमेदवार टुंग्याउँदै दलहरु

धनकुटा– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धनकुटाले ७ वटै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ ।
एमाले धनकुटाका सचिव निरन राईका अनुसार प्रदेश कमिटीले ७ वटै स्थानीय तहको उमेदवारको छनौट गरेर जिल्लामा पठाएको जनाएका हुन् । जस अनुसार धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ, उपप्रमुखमा भीमा खनाल, पाख्रिवास नगरपालिकाको प्रमुखमा भीम राई, उपप्रमुखमा नम्रता देउजा, महालक्ष्मी नगरपालिकाको प्रमुखमा दीपक बुढाथोकी, उप्रप्रमुखमा मञ्जु कार्की रहेका छन् ।
चौबिसे गाउँपालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ, उपाध्यक्षमा टंकमाया मगर, साँगुरीगढी गाउँपालिकाको अध्यक्ष कुमारजंग याखा, उपाध्यक्षमा मुना राई, छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बू, उपाध्यक्षमा गोमा कार्की, सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई रहेका छन् ।
यता धनकुटामा तालमेलमा रहेका दल कांग्रेस तथा माओवादीले धनकुटा नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख माओवादी केन्द्रले पाउने भएको छ। जसमा कांग्रेसबाट सभापति दिनेश राई प्रमुखमा र उपप्रमुखमा माओवादीले गणेश विष्टलाई उमेदवार बनाउने भएको छ । पाख्रिबास नगरपालिकामा प्रमुखमा कांग्रेसले ज्ञान बहादुर गुरुङलाई उमेदवार बनाउने भएको छ भने माओवादीले उपप्रमुखमा ओमप्रकाश निरौलालाई बनाउने भएको छ।
यता, महालक्ष्मी नगरपालिकामा कांग्रेसका ध्रुवराज राया प्रमुखमा र माओवादीका प्रेम खड्का उपप्रमुखमा उमेदवार बन्ने भएका छन् । छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका छत्र सुब्बा अध्यक्षमा र माओवादीको गीता खेवा उपाध्यक्षमा भीड्ने पक्काकक्की भएको छ । गठबन्धनले साँगुरीगढी गाउँपालिका, चौविसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा उमेदवार टुग्याउन सकेको छैन ।
धनकुटाका दलहरुले सोमबार मात्रै मनोनयन गर्ने बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्