मनाङमा हेलिकप्टरबाट मतपत्र पुर्याइयो
मनाङ- यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमाल पारीको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ ।
जिल्लामा हेलिकप्टरमार्फत नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो । जिल्लामा ९ हजार थान मतपत्र ल्याइएको छ । जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षीत रुपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
वैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि मतपत्र जिल्लामा निर्वाचन आयोगले पठाएको हो । सुरक्षा संवेदनशीलताका आधारमा आयोगले हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाएको हो ।
निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ । निर्वाचनको लागि जिल्लामा २८ वटा मतदान स्थललाई नै मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनु भएको छ । जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा रहेको छ ।
निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन गराउनका लागि कार्यालय प्रतिबद्ध रहेको बताउनु भएको छ । शान्त र भयरहित तरिकाले निर्वाचन गराउनका लागि प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले बताउनु भयो ।
निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुने गरी जिल्लामा सुरक्षा योजना बनाएको उहाँले बताउनु भएको छ । जिल्लामा कुल मतदाता ६ हजार ४ सय ९६ जना मध्ये ३ हजार ३ सय ४८ जना महिला र ३ हजार १ सय ४८ जना पुरुष मतदाता रहेको छ ।
यस्तै जिल्लामा २ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा रहेका चार गाउँपालिकामा आइतबार र सोमबार कुल २ सय १० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। जिल्लाको ङिस्याङ गाउँपालिकामा ७३ जना ,चामे गाउँपालिकामा ४२ जना , नासोँ गाउँपालिकामा ६८ जना , नार्पाभूमि गाउँपालिकामा २७ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभयो ।
यसैगरी, चार गाउँपालिका अध्यक्ष पदका लागि ९ जना र उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८ जना, महिला वडा सदस्यमा ४१ जना, दलित सदस्यमा २२ र खुला सदस्य पदमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन्।।
प्रतिक्रिया राख्नुहोस्