युएईद्वारा नेपालसामु ३११ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ- आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा युएईले नेपालसामु ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुरै ओभर खेल्दै युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।
टस जितेर पहिले व्याटिङ रोजेको युएईले पछिल्लो ६ ओभरमा १ सय भन्दा बढी रन जोडेको थियो ।
युएईका लागि आसिफ खानले किर्तिमानी शतक खेलेका थिए ।
यसअघि, नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ ।
आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो ।
लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ ।
उहाँले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।
यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको थियाे ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाली खेलाडीलाई जितको शुभकामना दिनुभएको छ । “हामी आशावादी छौँ, हाम्रो टीम उच्च मनोबलका साथ खेल्नेछ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्नेछ ।
विजयीको शुभकामना टीम नेपाल”, उहाँले भन्नुभएको छ । साथै, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना । राष्ट्र तपाईंहरुको साथमा छ । म तपाईंहरुको साथमा छु ।”
प्रतिक्रिया राख्नुहोस्