नेपाल साफ च्याम्पियनसिपको पहिलो  खेलमा कुवेतसँग पराजित

काठमाडौं- दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।
भारतको  काँतीराव स्टेडियममा आज भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अन्तरले पराजित भएको हो । कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक/एक गोल गरे ।
यता नेपालका लागि भने अन्जन विष्टले एक गोल फर्काए । खेलको २३औँ मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२औँ मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।
खेलको ६५औँ मिनेटमा मोहमदले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको हो ।
त्यसपछि खेलको ६८औँ मिनेटमा नेपालका खेलाडी अन्जनले गोल गरे पनि नेपाल पराजित भयो । यस जितसँगै कुवेतले ३ अङ्क जोडेको छ । साफ च्याम्पियनसिपमा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान र माल्दिभ्स छन् । अब नेपालले दोस्रो खेल शनिबार आयोजक भारतसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.