आइसिसी एकदिवसीय विश्वकप छनोटः नेपाल पराजित

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २३८ मात्रै बनाउन सक्यो ।

यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो ।

वेस्ट इन्डिजका कप्तान साइ होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन्र ।

त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए भने गुलशन झाले ४२, आशिफ शेख र करन केसीले समान २८ रन बनाए । साथै दीपेन्द्र ऐरीले २३ रन बनाउन सके भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

वेस्ट इन्डिजका लागि जोसन होल्डरले तीन विकेट लिए भने अल्जारी जोसेफ, किमो पउल, अकेइल होसेइनले समान २/२ विकेट र काइले मायर्सले एक विकेट लिए ।

नेपाल यसअघि जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।

समूह चरणको अर्को खेलमा अमेरिकाविरुद्ध नेदरल्याण्ड्सले पाँच विकेटको जित निकालेको छ । अमेरिकाले दिएको २११ रनको लक्ष्य नेदरल्याण्ड्सले ४३ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

जितसँगै नेदरल्याण्ड्स समूह तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल चौथो स्थानमा झरेको छ । नेपालको अर्को खेल भोलि नेदरल्याण्ड्सविरुद्ध हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.