डोल्पामा अनौठो बालक : उपचार गराउन आर्थिक समस्या
डोल्पा- हिमाली जिल्ला डोल्पाको दुर्गम गाउँमा अनौठो बालक भेटिएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत करेलीकाँडा गाउँमा भेटिएका यी बालकको उमेर १४ बर्ष पुगिसक्यो तर हेर्दा दूधे बालक जस्तै देखिन्छन् ।
उनको नाम पारस बुढा हो । उनको शारिरीक,मानसिक दुवै प्रकारको बृद्धि र विकास भएको पाइँदैन । उमेर बढेसँगै छोरो हुर्किँदै जाने आशा गर्दा गर्दै यस्तो अवस्था आएको आमा शान्ति बुढाले बताइन् ।
छोरो तन्नेरी हुने उमेरमा चौध बर्षको छोरा आफ्नो चार बर्षको कान्छो छोरा भन्दा पनि सानो भएपछि उनलाई ठुलो पिर परेको छ ।
“छोरो न हिँड्न सक्छ न बोल्न सक्छ,राम्रोसँग खान पनि सक्दैन्,जुन ठाउँमा बसाल्यो त्यो ठाउँबाट कतै चल्दैन” आमाले भनिन् ।
“लक्का जवान भएर घरको कामकाज धान्ने उमेरमा दूधे बालक जस्तै देखिन्छ,खाना खुवाउनदेखि दिसापिसाब पनि आफैँ गराउनुपर्छ । बोल्न सक्ने भएपनि केहि थिएन्,बोली पनि प्रष्ट बुझिदैँन्, घरमा सबै बेरोजगार छौँ,छोरालाई कसरी पालनपोषण गर्ने मलाई ठुलो पिर परेको छ” आामा शान्तिले दुखेसो पोखिन् ।
पारसले आठ-नौ दिनमामात्र दिसा पिसाब गर्छन भने कान सुनेपनि बोली फर्काउन सक्दैनन् ।
“जन्मेको बीस दिनमा धेरै बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरेर बचायौँ,सात आठ महिनामै हिँड्ने होला भन्ने आशा थियो,तर बर्षौँ बित्यो न शरिर बढ्यो न बोली नै फुट्यो ” उनले विगत सम्झिइन ।
जिल्लाका डाक्टरले तपाइँको छोरालाई उपचार गर्न तराइका अस्पतालमा लैजान सुझाव दिएपनि आर्थिक अभावका कारण शहरका ठुला अस्पतालमा उपचार गर्न लैजान नसकिएको उनको भनाइ छ ।
उनको चार छोरा र एक जना छोरीसहित ७ जनाको परिवार छ ।
आफू चालीस बर्ष पुग्दा यस्तो बच्चा जन्मेको बुढाले बताइन् ।
पारसको शरिरका सबै अंगहरु अरु सामान्य बच्चा जस्तै छन्,तर छात्ती भने बाहिर निस्केको छ ।
कोही कसैबाट आर्थिक सहयोग पाएको भए एक पटक उपचार गराउन शहरका अलि राम्रा अस्पताल लैजाने परिवारको इच्छा छ ।।
प्रतिक्रिया राख्नुहोस्