नेपालले पाकिस्तानलाई दियो १ सय ९८ रनको लक्ष्य

काठमाडौँ-  नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा आज पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको जारी इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा १ सय ९७ रन बनाएको हो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए ।

बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिए। अहमेद हुसेन र उवइद शाहले २-२ तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसानले १-१ विकेट लिएका थिए ।

समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई समूह चरण पार गर्न पाकिस्तानविरुद्धको खेल महत्त्वपूर्ण मानिन्छ ।

यू-१९ क्रिकेटमा यसअघि नेपाल र पाकिस्तानबिच दुई पटक प्रतिस्पर्धा भएका थिए । सन् २००२ मा भएको भेटमा नेपाल ३० रनले विजयी भएको हो । सन् २०१६ मा भएको पछिल्लो भिडन्तमा पाकिस्तान एक सय २२ रनले विजयी भएको थियो ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूहमा दुई जित निकालेको न्युजिल्यान्ड चार अङ्कसहित शीर्षस्थानमा छ । एक खेल जितेको पाकिस्तान दुई अङ्कसहित दोस्रो स्थानमा छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.