गठबन्धन बनाउन दाहाल र नेपालको योगदान : महामन्त्री शर्मा

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठूलो योगदान रहेको बताउनुभएको छ ।

गृहनगर मेचीनगरको धुलाबारीमा आयोजित चुनावी सभामा उहाँले भन्नुभयो, “अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको यसअघिको सरकारले दुई-दुई पटकसम्म संसद् विघटन गरेर संविधान र लोकतन्त्रप्रति प्रहार गरेको आरोप लगाउँदै कांग्रेस महामन्त्री शर्माले संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्ने बाध्यता आएको बताउनुभयो ।

दश वर्षे सशस्त्र विद्रोह गरेको शक्ति माओवादी र लोकतन्त्रका लागि सङ्घर्ष गरेको नेपाली कांग्रेसबीच तालमेल भएकै कारण मुलुकमा शान्ति स्थापना भएको दृष्टान्त दिँदै उहाँले घरपरिवार तालमेलबाट चले जस्तै देशलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदातालाई आग्रह गर्नुभयो ।

महामन्त्री शर्मा दुई दिनयता गृह जिल्लाको चुनावी सभामा व्यस्त रहनुभएको छ । शर्माको गृहनगर मेचीनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन रहेको छ । नगरप्रमुख पदमा नेपाली कांग्रेसका इन्द्र बुढाथोकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी उम्मेदवार बन्नुभएको छ । उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.