धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : दुईमा कांग्रेस, एमाले र जसपा एक/एकमा विजयी

धनुषा- धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ भने नेकपा (एमाले) र जनता समाजवादी पार्टीले एक/एक पालिकामा जित हासिल गरेका छन् ।

धनुषाको धनौजी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने औरही गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले तथा जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादवनी विजयी हुनुभएको छ । अध्यक्षमा तीन हजार ७६५ मत ल्याए कांग्रेसका मिश्र निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका सत्रुधन यादव तीन हजार ४९७ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै फूलकुमार यादवनी तीन हजार ६२८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका विमलाकुमारी यादव तीन हजार ४६० मत ल्याउनुभयो ।

यस्तै धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । धनौजी गाउँपालिकाको अध्यक्षमा दुई हजार २६२ ल्याएर कांग्रेसका राजकुमार साह विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकै रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित साहका निकटतम प्रतिद्वन्द्वी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिनुभयो ।

धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएको निर्वाचन अधिकृत रत्नेश शशिले जानकारी दिनुभयो ।

अध्यक्षमा तीन हजार ३२६ मत ल्याएर साह निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बह्मदेव यादवले दुई हजार ९२३ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह दुई हजार ९४९ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकीकुमारी मण्डलले दुई हजार ७९० मत प्राप्त गर्नुभयो । कूल छ वटा वडा रहेको सो गाउँपालिकामा १४ हजार ४६८ मतदाता रहेको जनाएको छ ।

यस्तै धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएको छ । गाउँपालिका अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।

अध्यक्षमा निर्वाचित यादवका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा निर्वाचित सहगलका निकटतम प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.