हालाण्डको ह्याट्रिक

नर्वेली फरवार्ड एलिङ बाउट हालाण्डको ह्‍याट्रिकसहित व्यक्तिगत पाँच गोलले इङ्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्‍वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग १-१ गोलको बराबरी खेलेको सिटीले घरेलु मैदानको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइफजिङमाथि ७-० गोलको भारी अन्तरले समग्रमा ८-१ गोलको फराकिलो जीत निकालेको हो ।

आज बिहान सम्पन्न खेलको २२औं मिनेटमा सिटीले पाएको पेनाल्टी प्रहारलाई फरवार्ड हलाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमै हालाण्डले थप दुई गोल गर्दै ह्‍याट्रिक गरेका हुन् ।

दोस्रो हाफको ४९औं मिनेटमा इलकाइ गुण्डोगानले चौथो गोल गर्दा हालाण्डले खेलको ५३औं मिनेटमा र ५७औं मिनेटमा अर्को थप दुई गोल गरेका थिए । खेलको इन्जुरी समयमा सिटीका लागि केभिन डे ब्रुनेले सातौं गोल गर्दै सिटीलाई ऐतिहासिक जीत दिलाएका थिए ।

यस खेलमा गरेको व्यक्तिगत पाँच गोलसँगै हालाण्ड च्याम्पियन्स लिगमा पाँच गोल गर्ने सबैभन्दा कान्छा खेलाडी र च्याम्पियन्स लिगमा सबैभन्दा छिटो तीस गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

त्यसैगरी अर्को खेलमा इटालियन क्लब इन्टरमिलान बाह्र वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको क्‍वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ । पोर्चुगिज क्लब एफसी पोट्रोसँग पहिलो लेगमा १-० गोलले अग्रता लिएको इन्टरमिलानले दोस्रो लेगमा गोलरहित बराबरी खेलेपछि समग्रमा १-० गोलको जीत हात पार्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

अब क्‍वाटरफाइनलमा पुग्ने अन्तिम दुई टोलीको खेल आज मध्यरातमा खेलिंदैछ । लिभरपुलले रियल मड्रिडको सामना गर्दैछ भने नेपोलीले फ्र्याङ्कफ्रटसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.