गुल्मीका रामबहादुरको बुटवलमा शंकास्पद मृत्यू ! हत्या भएको परिवारको आशंका

रुपन्देही- आठ महिनाअघि शंकास्पद रुपले मृत अवस्थामा फेला परेका गुल्मीका रामबहादुर रानाको हत्यारा पत्ता लगाउन प्रहरीले नसकेको भन्दै परिवारले गुनासो गरेका छन् ।

गत फागुन २४ गते राती बुटवल ६ चाँदबारीस्थित खोलामा रामबहादुरको शंकास्पद रुपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पिडित परिवारले गुनासो गरेका हुन् ।

होटेल तथा रेष्टुरेन्ट ब्यबसायी रामबहादुरको बुटवल-६ पुरानो बुटवल चलचित्र हलको पछाडीतिरबाट दिपनगर डेरातर्फ जानेक्रममा हत्या भएको र आफ्नो श्रीमानको शंकास्पद रुपमा मृत फेला परेको भएपनि प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको भन्दै श्रीमती अम्बी रानाले चिन्ता ब्यक्त गरेकी छन् ।

रामबहादुरकी श्रीमती रानाले पत्रकारहरुसँग कुरा गर्दै घटना घटेको आठ महिना बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बताएकी हुन् ।

पीडित परिवारका अनुसार गुल्मीको मुसिकोट घरभई बिगत ६ बर्षदेखि होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४५ बर्षिय रामबहादुर राना गत फागुन २४ गते बुटवलको चाँदबारीमा मृत अवस्थामा फेला परेका थिए ।

रातको पौने १० बजेसम्म परिवारको सम्पर्कमा रहेका राना राती घर नगएपछि अर्को दिन बिहानै खोजतलास गर्दा परिवारले मृत अवस्थामा फेला पारेका थिए ।

मृतकको टाउकाको पछाडीको भागमा गम्भीर चोट लागेको र सिसि टिभि फुटेजमा एक ब्यक्तिले कठालोमा समातेर लगेको देखिएकोले दुर्घटना नभएर हत्या भएको परिवारको दाबी छ ।

एक छोरा र पाँच छोरीका बाबु रामबहादुरको शंकास्पद निधनले परिवारमा ठुलो बिपत्ती परेको छ । मृतक रानाकी श्रीमतीले आफ्नो श्रीमानको हत्या भएको र प्रहरीमा पटक पटक किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी दर्ता समेत नगरेको भन्दै उनले आपत्ती जनाएकी छन् ।

उनि भन्छिन्-सिसिटीभी फुटेजमा एउटा मान्छेले कठालो समातेर तानेर लादै गरेको दृष्य प्रष्ट छ । लडेर वा डुबेर मर्ने खालको खोला पनि छैन, घटनाको प्रकृति हेर्दा हत्या गरि फालेको जस्तो देखिन्छ ।

घटनास्थल नजिकै करिब १ सय मिटर तल प्रहरी बिट छ । पीडित श्रीमती रानाले अगाडी भनिन्—हत्या हुने क्रममा हारगुहार हल्लाखल्ला केही भएको हुनुपर्ने हो, स्थानियले थाहा पाउनु पर्ने हो, प्रहरीले पनि थाहा पाउनु पर्ने हो, अनुसन्धानका लागि केही आधार र प्रमाणहरु हुँदाहुँदै
पनि घटनाको रहस्य पत्ता नलाग्नु र प्रहरीले तदारुकता नदेखाउनुमा के रहस्य छ हामीले बुझ्न सकेका छैनौ, अब त हामीले न्याय पाउदैनौ कि जस्तो लाग्न थालेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डिएसपि दानबहादुर थापाले भने घटनाको अनुसन्धान भैरहेको प्रतिक्रिया दिनुभएको छ । डिएसपि थापाका अनुसार प्रहरीले आफ्नो तर्फबाट गर्ने अनुसन्धानको काम गरिरहेको र निष्कर्षमा नपुगेसम्म सबै कुरा थाहा नहुने उहाँले बताउनुभयो ।

अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने दावी गर्दै शंकास्पद मान्छेहरुलाई सोधपुछ गरिसकेको पनि बताउनुभएको छ ।

होटेल तथा रेष्टुरेन्ट ब्यबसायी खगेन्द्र पौडेलले ब्यबसायी माथि आक्रमण हुँदा पनि राज्यपक्ष गम्भिर नहुनु दुखःद कुरा भएको बताउहुन्छ । यथासिघ्र अनुसन्धानलाई तीब्र पार्न प्रहरीलाई आग्रह गर्दै पीडित परिवारलाई राहतको ब्यबस्था गर्न पनि सरकारसँग पौडेलले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.