विदुरको बजेट सभा स्थगित
एमालेको विरोध, तीन दिनपछि अर्को सभा घोषणा

नुवाकोट- नुवाकोटको झन्डै चार दशक पुरानो विदुर नगरपालिकाको बजेट सभा सोमवार स्थगित भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिने सभा एकतर्फी रूपमा गर्न लागिएको जनाउँदै सत्तारुढ दल एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि स्थगित भएको हो ।
विदुरको १७औँ नगर सभा वट्टार बजारमा आयोजना गरिएकोमा मेयर राजन श्रेष्ठले सोमवार उक्त पहिलो बैठक गणपूरक सङ्ख्या नपुगेको कारण तीन दिनका लागि स्थगित गरिएको घोषणा गरे । एमालेका जनप्रतिनिधिहरूले भने नगरमा सहकार्य, सहमति र सद्भावको कार्य हुन नसेको आरोप लगाउँदै सभा बहिष्कार गरेको बताउनुभयो ।
विदुरको नगर सभाको बैठक मेयर श्रेष्ठले यहि असार ११ गते विदुरमा बस्ने गरी स्थगित भएको नगर सभाका सभाध्यक्ष तथा मेयर श्रेष्ठले घोषणा गरे । मेयर श्रेष्ठले नगर सभा स्थगित भएको घोषणा गरिरहँदा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले भने विदुर नपा कार्यालयमा पत्रकार सम्मेलन गरेर नगर सभामा सहमति नभई एकतर्फी रूपमा घाटा बजेट ल्याउन खोजिएको कारण सहमति हुन नसकेका कारण बहिष्कार गरिएको जनाउनुभयो ।
एमालेको बहिष्कारपछि विदुरको नगर सभा स्थगित भएको हो । नगर कार्यपालिका र नगर सभामा बहुमत सदस्य रहेको जनाउँदै एमालेले आफूहरूलाई बाइपास गर्न खोजेका कारण सहमतिका लागि विरोध गरिएको जनाएको छ ।
तीन वर्ष अगाडिको स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट निर्वाचित ५ जना वडाध्यक्ष र बहुमत नगर सभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि सोमवार तय भएर तयारीसमेत गरिएको बजेट नगर सभाका लागि गणपूरक सङ्ख्या अपुग भएको विदुर १ का वडाध्यक्ष लेनिन रन्जितले बताउनुभयो । उहाँले बजेट सभाका लागि पहिले नै सहमति र सहकार्य हुनु पर्नेमा त्यसो हुन नसकेका कारण आफूहरूले कार्यक्रम बहिष्कार गरेको बताउनुभयो ।
नगर सभा सञ्चालनका लागि गणपूरक सङ्ख्या नपुगेपछि मेयर राजन श्रेष्ठले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो । श्रेष्ठले नगर सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको ५० प्रतिशतभन्दा कम सङ्ख्यामा सदस्यहरू उपस्थित भएकोले गणपूरक सङ्ख्या नपुगेको भन्दै सभा स्थगित स्थगित गरिएको बताउनुभयो ।
नगर सभा र कार्यपालिकाका सदस्यहरू सहमतिमा आउनुहुनेछ र अर्को वैठकमा बजेट प्रस्तुत भएर नगर सभा सम्पन्न हुने विश्वास आफूलाई रहेको मेयर राजन श्रेष्ठको भनाई छ । विमति राख्न पाइन्छ, नगरको परिस्थिति, गाम्भीर्यता र अवस्था अनुसार सदस्यहरुले बुझ्नु नै हुनेछ भन्ने आफूलाई आशा लागेको मेयर श्रेष्ठले बताउनुभयो ।
सभाका लागि सबै विधि र प्रक्रिया गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाई छ । सभा स्थगित भएपछि विदुर नपा कार्यालयमा एमाले पक्षधर वडाध्यक्ष, कार्यपालिका तथा नगर सभा सदस्यहरूले मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटीलगायतलाई ध्यानाकर्षण पत्रसमेत बुझाउनुभएको छ ।
विदुर २ का वडाध्यक्ष दीपक कायस्थले कार्यपालिकामा भएको सहमति विपरीत झन्डै १३ करोड बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताउनुभयो । उहाँले सहमति विपरित आयोजित सभामा बजेट पेस गर्न खोज्दा विदुर नगरपालिकालाई दूरगामी असर पर्ने बजेट पेस गर्न लागिएको र विरोध जनाइएको बताउनुभयो ।
विदुर नपाको ६६ सदस्यीय नगर सभामा मेयर, ५ वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेसबाट, उपमेयरसहित ३ वडाध्यक्ष र तीन वडा सदस्य माओवादीबाट छन् । एमालेबाट ५ वडाध्यक्षसहित ३४ जना नगर सभा सदस्य तथा कार्यपालिका सदस्य रहेका छन् ।
केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको सरकार रहे पनि विदुरमा बजेट निर्माण र नीति तथा कार्यक्रममा काँग्रेस र माओवादीबिच सहमति भएको र एमालेले नोट अफ डिसेण्ट लेखेर फरक मत राखेको छ । विदुरमा आफूहरूको स्पष्ट बहुमत रहँदासमेत सहमति नगरिएका कारण सभा बहिष्कार गर्नु परेको विदुर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्