बेमौसमी वर्षाले कात्तिके मह उत्पादन घट्ने चिन्ता

दाङ- बेमौसमी वर्षाका कारण मह उत्पादनमा गिरावट आउने सङ्केत देखिएको छ। विशेष गरी चिउरीको फूलबाट मह उत्पादन हुने मुख्य सिजनमै लगातार वर्षा भएपछि मौरीले फूलबाट रस सङ्कलन गर्न नसक्दा मह उत्पादन कमजोर हुने किसानहरूले बताएका छन्।
कात्तिकको पहिलो हप्तादेखि सुरु हुने कात्तिके महको सिजनमा किसानहरू महिनौँदेखि मौरी चरन र हेरचाहमा लागिरहन्छन्। तर, सिजनकै महत्त्वपूर्ण समयमा पानी परेपछि यस वर्ष उत्पादन घट्ने किसानहरूको मूल्याङ्कन छ।
“वर्षा भएर चिउरीको फूलमै रस बस्न पाएन। अरू वर्षको तुलनामा यस वर्ष मह धेरै कम उत्पादन हुने देखिन्छ।” घोराही–१८ गिठेपानीकी मौरी पालक किसान जानकी डाँगीले भन्नुभयो ।
यस्तै, मौरी पालक महासङ्घ दाङका अध्यक्ष दिनेश ओलीले मह उत्पादन हुने सिजनमै भएको वर्षाले महको स्रोतमा असर पारेको बताउनुभयो "सबैभन्दा राम्रो समय यही हो। तर पानी परेपछि मौरी बाहिर चरन गर्न नै पाइन।”
दाङ मौरी पालनका लागि उपयुक्त क्षेत्र मानिन्छ। नेपाल मौरी पालक महासङ्घ दाङका अनुसार जिल्लामा करिब ७ सय किसान मौरी पालनमा संलग्न छन्। किसानसँग मिलेर २५ हजारभन्दा बढी मौरीका गोला रहेको छ। साथै मह उत्पादन सिजनमा बाहिरी जिल्लाबाट पनि मौरी दाङमा चरनका लागि ल्याइने गरिएको छ।
तर, पछिल्लो समय चरन व्यवस्थापनको अभाव दाङका किसानहरूको अर्को चुनौती बनेको छ। एउटै क्षेत्रमा धेरै मौरी राखिँदा मौरी एक–आपसमा लडेर मर्ने, रोग फैलिने र उत्पादनमा असर पर्ने किसानहरूको गुनासो छ।
बाहिरी जिल्लाबाट चरनका लागि ल्याइएका मौरी व्यवस्थापन हुन नसक्दा स्थानीय किसान नै मारमा परेको मौरी पालक किसान कृष्णबहादुर डाँगीको भनाई छ । मौरी चरन व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद आचार्यले महको स्रोत वन क्षेत्र प्रशस्त भए पनि व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउनुभयो । यसले बर्सभरिको हाम्रो मिहिनेत जोखिममा परेको छ।”
नेपाल मौरी पालक महासङ्घ दाङ शाखाले स्थानीय तह र प्रशासनसँग चरन क्षेत्र व्यवस्थापनका लागि पटक–पटक सुझाव दिए पनि उचित सुनुवाइ हुन सकेको छैन।
दाङमा यो वर्ष मह उत्पादन घट्ने निश्चित देखिएपछि किसानहरूको लगानी र आम्दानी दुवै प्रभावित हुने अनुमान गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्