चालु आर्थिक वर्षको बजेट स्वीकृत गर्ने निर्णय
दाङ–लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठक शुक्रवार सम्पन्न भएको छ ।
मुख्यमन्त्री तथा युवा परिषद् विकास समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न बैठकले चालु आर्थिक वर्ष २०८१\०८२ को लागि प्रदेश युवा परिषद् समितिको प्रस्तावित बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
चालु आर्थिक वर्षमा युवा परिषद्को लागि एक करोड बजेट विनियोजन गरिएको थियो । ससर्त पुँजीगत तर्फ ५९ लाख र कार्यक्रम तर्फ ४१ लखको बजेट स्वीकृत गरेको हो ।
बैठकले युवा परिषद् समितिको हाल बुटवलमा रहेको कार्यालय लुम्बिनी प्रदेशको राजधानी क्षेत्रभित्र स्थानान्तरण गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरूलाई उद्यम, सचेतना तथा साइवर सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम केन्द्रित गर्न निर्देशन दिनु भएको छ ।‘युवाहरूको समस्याको पहिचान गरेर समाधानका लागि योजना निर्माण गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘युवालाई आकर्षित गर्ने, भविष्य प्रति आशा जगाउने गरी काम गर्न जरुरी छ । यस प्रकारका योजनाहरू बनाएर अघि बढ्नुपर्छ ।
’ युवा परिषद्ले युवाहरूलाई साइवर सुरक्षा सम्बन्धी तालिम प्रदान गर्ने, सीमान्तकृत समुदायका युवालाई लक्षित गरेर अटो रिक्सा मर्मत तालिम, नमुना युवा संसद्, लागु औषध तथा दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम, लुम्बिनी प्रदेशमा युवाको अवस्था अध्ययन तथा विश्लेषण गर्ने, युवा पिस कन्फ्रेन्स कार्यक्रम गर्ने, युवा उद्योग वाणिज्य सङ्घ सँग सहकार्य तथा अन्तरक्रिया गर्ने, स्थानीय तहमा युवा परिषद् गठनका लागि सहजीकरण गर्ने विषय समेटिएको छ ।
बैठकमा युवा परिषद्का उपाध्यक्ष हंसराज खनाल, प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव विनोदकुमार खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्