पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, पाल्पा बुटवल खण्ड एकतर्फी सुचारु

पाल्पा –  ढुङ्गा सहितको पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको आर्यभञ्याङ्ग राम्दी सडक पुर्णरुपमा अवरुद्ध बनेको छ । जिल्लाको रम्भा गाउँपालिका ३ पिपल डाँडाको अगाहखोलमा सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडक सञ्चालनमा ल्याउन अहिले सडक डिभिजनको दुई वटा लोडर प्रयोग गरिएको छ । पहिरो ठुलो भएकोले र पहिरो नजिकै बस्ती रहेकोले पहिरो हटाउन आज दिउँसो भरी नै लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

यता हिजो अपराह्न साढे ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्ड एकतर्फी सञ्चालमा आएको छ ।

जिल्लाको तिनाउ गाउँपालिका–५,केराबारी नजिकै खसेको पहिरो करिब ८ घण्टा पछि एकतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन पाल्पाका दुई वटा लोडर र सिद्ध बाबा सुरुङ्गमार्ग परियोजनाका ब्रेकर सहितको दुई वटा एक्स्काभेटरको सहयोगमा सडकको पहिरो हटाएको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिनुभयो ।

ठुला ठुला ढुङ्गा सहितको पहिरो भएको कारण पहिरो हटाउन समय लाग्दा सडक सुचारु गर्न समेत ढिलाइ भएको थियो । जसको कारण यस सडक भएर पाल्पा सहित छिमेकी जिल्लाहरू स्याङ्जा, पोखरा, पर्वत, गुल्मी, अर्घाखाँची, बागलुङ, मुस्ताङसम्मका यात्रुहरु समस्यामा परेका थिए ।

अहिले दुईतर्फी नै सडक सञ्चालन ल्याउन आज विहानैबाट रुपन्देही देखि सडक विभागले पठाएको ब्रेकर सहितको एक्स्काभेटर सडक सुचारु गर्न परिचालन भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.