मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

मिथिलाञ्चल-   मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक जारी छ ।

मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । दसैँको आगमनसँगै मिथिलाको यो लोकनृत्य गरिन्छ ।

पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा विशिष्ट महत्त्व छ । घटस्थापनादेखि विजय दशमीसम्म देवी स्तुतिको रूपमा मिथिलाञ्चलमा भिझिया नृत्य गर्ने परम्परा रहेको छ । बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रही आएको छ ।

यसको बनावट र स्वरूपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असङ्ख्य प्वाल पारिएको घैँटो त्यसकै नमुना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा  निहित विशेष अर्थलाई सङ्केत गर्दछ ।

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझिया को गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत  वातावरणको निर्माण हुन्छ । झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रूपमा समेत प्रचार गर्दै आई रहेका छन् ।

झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ ।

त्यस्तै भारतीय मिथिला क्षेत्रमा यो लोकनृत्य गर्ने गरिन्छ । झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट सुरु भएको मानिन्छ ।

वैदिक परम्पराको रूपमा रहेको घट नृत्य नै कालान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरूप धारण गरेको संस्कृतिविदहरुको भनाई छ ।

छैटौँ शताब्दीदेखि ११ औँ शताब्दीसम्मको बिचमा तन्त्र शक्ति हाबी भएको बेलादेखि झिझिया को प्रारम्भ भएको जनविश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.