बागमती प्रदेशमा पहिलो पटक ‘स्पोट्र्स अवार्ड’, एकै मञ्चमा १३ खेल व्यक्तित्व सम्मानित

मकवानपुर –  खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले पहिलो पटक ‘स्पोट्र्स अवार्ड’ कार्यक्रम गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आइतबार साँझ हेटौँडाको हुप्राचौरमा आयोजित एक समारोहका बिच खेल क्षेत्रका १३ जना व्यक्तित्वलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका उत्कृष्ट पूर्व र वर्तमान खेलाडी, प्रशिक्षक, पत्रकार लगायतलाई पुरस्कारसहित नगद राशिसमेत प्रदान गरिएको थियो । खोखो विश्वकपमा नेपाललाई ऐतिहासिक दोस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मकवानपुरका राजन बल र कराते खेलाडी एरिका गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक एक लाख रुपैयाँ प्राप्त गरेका छन् । नेपाली म्याराथनका लिजेन्ड वैकुण्ठ मानन्धर र दोलखाका जितबहादुर केसीलाई जनही १ लाख रुपैयाँ राशिको लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गएको थियो । तेक्वान्दो खेलमा ऐतिहासिक उपलब्धि हासिल गर्दै ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी सँगिना वैद्यलाई १ लाख रुपैयाँ सहित ‘बागमतीको सान अवार्ड’ प्रदान गरिएको थियो ।

त्यस्तै, पेरिस पारा ओलम्पिक्समा नेपाललाई कास्य दिलाएकी पलेसा गोवर्धनलाई उत्कृष्ट पारा खेलाडी अवार्डका साथमा ५० हजार रुपैयाँ प्रदान गरियो । पलेसाकी प्रशिक्षक मकवानपुरका कविराज नेगी लामाले उत्कृष्ट प्रशिक्षकको अवार्ड सहित  १ लाख रुपैयाँ प्राप्त गर्नुभयो ।

यस्तै, नेपालका गल्फर सद्भाव आचार्यले उत्कृष्ट युवा खेलाडी अवार्ड हात पारे । लोकप्रिय खेलाडीका रूपमा फुटबल खेलाडी आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ चयन भए । उनीहरूलाई समान ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यस्तै नेपाल टेलिभिजनका पूर्व क्यामेरा पर्सन एवम् वरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई उत्कृष्ट खेल पत्रकारको रूपमा ५० हजारसहित सम्मान गरिएको थियो ।

उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्षका रूपमा ललितपुरका विनोद महर्जन घोषित भए । अवार्ड विजेताहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री लामा, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्का, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, संस्कृति पर्यटन मन्त्री विमल ठकुरी र नेपाली काँग्रेस बागमती सभापति एवम् प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले अवार्ड तथा सम्मान प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.