दुप्चेश्वरमा शनिवार हजारौँ भक्तजन
तीन लाख बढी भेटी सङ्कलन

नुवाकोट- हिन्दुहरूको आराध्य देव भगवान् शिवको विशेष पूजा आराधन गर्ने विशेष महिनाको रूपमा साउन महिनालाई लिने गरिन्छ । यही साउनको दोस्रो शनिवार नुवाकोटको रामतीस्थित प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा हजारौँ भक्तजनहरूको आगमन भएको छ ।
दुप्चेश्वर मन्दिरमा दैनिक रूपमा असङ्ख्य भक्तजनहरू आउने क्रमसमेत बढिरहेको छ । पशुपतिनाथको पर्यायको रूपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको पहुँच र सहजतासँगै भक्तजनहरू आउने क्रमसमेत बढिरहेको दुप्चेश्वर गाउँपालिका समुन्द्र टारका भूपेन्द्र केसीले जानकार दिनुभयो ।
काठमाडौ तथा सदरमुकाम विदुरदेखि यातायातको सहजतासँगै दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साउनको दोस्रो शनिवार मात्र एकै दिन १० हजार भक्तजनले दुप्चेश्वरको दर्शन र पूजाआजा गरेको केसीले बताउनुभयो । दर्शन गर्नेहरुको लाइन बेलुकीसम्म नै रहेको थियो ।
दुप्चेश्वरमा शनिवार भक्तजनहरूले चढाएको तीन लाख रुपैयाँ बढी भेटी सङ्कलन भएको छ । भक्तजनहरू बढेका कारण भेटी सङ्कलन पनि बढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
दुप्चेश्वरमा सोमवार १० हजार जनाले मन्दिर पुगेर पूजाआजा गरेका छन् । जसमध्ये ६० प्रतिशत महिला रहेका थिए ।
१० घण्टासम्म मन्दिर दर्शन गर्नका लागि लाइन बस्नु परेको थियो । दुप्चेश्वरमा शनिवार तीन लाख ७ हजार नौ सय ५० रुपैयाँ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ । श्रेष्ठका अनुसार पछिल्लो एक वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिति बढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्र टार क्रियाशील रहेको छ ।
यातायात र सुरलभ बाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । उक्त स्थानमा पुग्न नुवाकोटको विदुरबाट यातायातमा डेढ घण्टा र काठमाडौँवाट दुई घण्टामा पुग्न सकिन्छ ।
हिन्दु र बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरू आउने क्रममा बढोत्तरी भएसँगै भेटी सङ्कलन कार्य बढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शङ्कर बहादुर थापाको भनाई छ । प्रसिद्ध दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौँवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा बौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।
यसैबिच, २०८१ साल साउन ७ गते सोमबारदेखि शुभारम्भ भएको दुप्चेश्वर धाम सन्ध्या आरतीको पहिलो सङ्कल्पकर्ताका परिवारलाई सम्मानित गरिएको छ । दुप्चेश्वर ३ हुङ निवासी रोजबहादुर आचार्यका स–परिवारले शनिवार सन्ध्या आरती शुभारम्भ भएको दोस्रो वर्षको दोस्रो शनिवार पनि सङ्कल्प गरी ५१ हजार एक सय ११ रुपैयाँ दुप्चेश्वर क्षेत्र विकास र आरती व्यवस्थापन लागि दान गरेका छन् ।
आचार्य परिवारलाई दुप्चेश्वर मन्दिर परिसरमा शनिवार आयोजित कार्यक्रममा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्कर बहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायतले सम्मान पत्र प्रदान गरी सम्मानित गर्नु भयो । उक्त अवसरमा गापा अध्यक्ष थापाले दुप्चेश्वरमा नेपाल मात्रै नभई भारतलगायत अन्य देशहरुवाटसमेत हिन्दु र वौद्धमार्गी दर्शन तथा पूजाआजाका लागि आउने गरेका कारण दुप्चेश्वर अन्तर्राष्ट्रिय तीर्थस्थल भइसकेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्