कर्णाली ६ सय ९३ जना पत्रकारको निःशुल्क स्वास्थ्य बिमा

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेशका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका दश जिल्लाका ६ सय ९३ पत्रकारको स्वास्थ्य बिमा गरेको हो ।
आइतबार मन्त्रालय र राष्ट्रिय बिमा कम्पनीबिच स्वास्थ्य बिमा नीतिमा सम्झौता भएको छ । कुल बिमा खर्च करिब १४ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले स्वास्थ्य बिमा गरिदिएसँगै अब पत्रकारहरूले हरेक वर्ष ७० हजार रुपैयाँसम्मको औषधोपचार निःशुल्क प्राप्त गर्नेछन् ।
 
बीमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बिमा कम्पनीलाई जानकारी गराउनुपर्ने छ । महासङ्घ प्रतिनिधिहरूले प्रदेश सरकारले सञ्चारकर्मीको सुरक्षाप्रति देखाएको संवेदनशीलता र सक्रियतालाई ऐतिहासिक कदमको रूपमा लिएको बताएका छन् । यता कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारिता सत्य र तथ्य उजागर गरी जनताको आवाज बुलन्द गर्ने पेसा भएकाले पत्रकारको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउनु भयो ।
संवेदनशील र कठिन जिम्मेवारीका बिच भूमिका निर्वाह गर्ने पत्रकारको सुरक्षा सुनिश्चितता प्रति राज्य गम्भीर हुनुपर्ने उल्लेख गर्दै उहाँले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनु भयो । स्वास्थ्य बिमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रतिको राज्यको दायित्वबोध, लोकतान्त्रिक मूल्य र मानवअधिकारका पक्षमा सरकारको प्रतिबद्धता पूरा हुने उहाँको विश्वास थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.