पत्रकार गुरूङ र श्रेष्ठलाई कन्ञन पत्रकारिता पुरस्कार

 
पोखरा –  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुनिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएको छ ।

पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवा आमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकार द्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मङ्गलवारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो ।

अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यहरूमा फोनिजका सङ्घीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर हुनुहुन्थ्यो ।

यो पुरस्कार फोनिजको २६ औँ स्थापना दिवसका अवसरमा साउन २७ गते प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लागेका फोटो पत्रकार गुरुङले गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहनु भएको छ । अहिले पोखरासिटी डटकममा कार्यरत गुरुङले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टस् र सिन्हुवामा काम गरिसक्नु भएको छ । उहाँ नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष हुनु हुन्छ ।

सम्मानित हुन लागेका अर्का पत्रकार श्रेष्ठले लामो समयदेखि गोरखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहनुभएको छ । उहाँले दरौदी पाक्षिक पत्रिकाबाट पत्रकारिताको सुरुआत गर्नुभएको थियो । श्रेष्ठले गोरखा पत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक,  नेपाल एफएम (काठमाडौँ), रेडियो पालुङ (मकवानपुर), रेडियो मुक्तिनाथ (पाल्पा), रेडियो गोरखा, एभिन्यूज टेलिभिजन, गोरखा समाचार दैनिक पत्रिकामा काम गरिरसक्नु भएको छ । अहिले उहाँ गोरखा समाचार डटकममा आवद्घ हुनुहुन्छ ।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुई जना पत्रकारलाई फोनिज गण्डकीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । वि.स २०७७ सालमा स्थापित यो पुरस्कारबाट यसभन्दा अगाडि रुद्रबहादुर हितानमगर, राजेशचन्द्र राज भण्डारी, शान्ति गुरुङ, केबी राना मगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दर कुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला राना मगर सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.