लम्पी स्किन विरुद्धको खोप अभियान सुरु

–अभियानमा १४ हजार पशुलाई खोप लगाइने

नुवाकोट- लम्पी स्किन रोगविरुद्ध नुवाकोटमा खोप अभियान सञ्चालन गरिएको छ । साताव्यापी अभियानमा १४ हजार पशु चौपायालाई खोप लगाउन सुरु गरिएको छ ।

पशु सेवा कार्यालय नुवाकोटले गाई, भैँसी, चौँरी तथा याकलाई लक्षित गरेर आइतवारदेखि सप्ताहव्यापी रूपमा लम्पी स्किन विरुद्ध खोप अभियान सुरु गरिएको कार्यालय प्रमुख डा. निशान्तकुमार शर्मागेलालले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानका लागि ८३ जना भ्याक्सिनेटर नियुक्त भई परिचालन गरिएका छन् ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले लम्पी स्किन रोगविरुद्ध नुवाकोट, रसुवासहित बागमती प्रदेशभर सप्ताहव्यापी खोप अभियान सुरु गरेको हो । उक्त खोप केन्द्रीय पशु सेवा विभागमार्फत उपलब्ध भएको हो ।

कार्यालयले नुवाकोटमा रहेका १२ स्थानीय तहलाई लम्पी स्किन रोगविरुद्ध खोप प्रदान गरिसकेको छ । डा. शर्मागेलालका अनुसार विदुर र वेलकोटगढी नगरपालिकालाई एक÷एक हजार र गाउँपालिकालाई आठ÷आठ सय डोज खोप उपलब्ध गराइएको छ ।
६ महिना उमेर भन्दा बढीका गाई, भैँसी, चौँरी तथा याकलाई लक्षित गरेर उक्त खोप लगाउन सुरु गरिएको हो । सात दिनको अवधिमा उक्त पशुपन्छीहरूलाई खोप लगाएर नसकिए समय थप गरिने कार्यालय प्रमुख डा. निशान्तकुमार शर्मागेलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.