विदुरमा बजार अनुगमन

–अखाद्य वस्तु जफत गरी नष्ट

नुवाकोट-  चाडपर्व नजिकिए सगै नुवाकोटको विदुरमा बजार अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।

विदुर नगरपालिकाले बजारमा बिक्री वितरण भइरहेका खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरीयतामा गुनासो आएपछि बजार अनुगमन गरेको हो । चालु आर्थिक वर्षको सुरुवाती चरणमा विदुर नपामा रहेका विभिन्न बजारहरूमा पुगेर छड्के अनुगमन गरिएको विदुर नपाले जनाएको छ ।

बजार अनुगमन समितिले विदुर १, २, ४ र ९ मा रहेका ११ वटा विभिन्न होटेल तथा रेस्टुरेन्टहरूमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो । होटेलहरूबाट अखाद्य सामग्रीहरू जफत गरेर नष्ट गरिएको विदुर नपा उद्योग शाखाका अधिकृत सुदर्शन सेढाइले जानकारी दिनुभयो ।

उहाँका अनुसार खाद्य गुणस्तरीय, स्वच्छता तथा म्यादभित्र मात्र सामान बिक्री वितरण गर्न सचेतसमेत गराइएको छ । उपभोक्ता संरक्षण, अधिकार तथा स्वास्थ्य सुरक्षामा जोड दिँदै बजार अनुगमन गरिएको समितिका संयोजक तथा विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो ।

उहाँका अनुसार खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरीय परीक्षण, म्याद गुज्रिएका सामानको बिक्री वन्द गर्ने, मूल्य सूची सर्वसाधारणले देख्ने स्थानमा राख्नु पर्ने, तौल तथा व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गर्ने साथै उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ नियमित रूपमा बजार निरीक्षण तथा अनुगमन गरिएको हो । बजार अनुगमन कार्यलाई निरन्तरता दिइने विदुर नपाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.