रमणीय चितवनको चौकी डाँडा :भरतपुरकै लुकेको ‘हिल स्टेसन’

चितवन – भरतपुर महानगरपालिका–२९ स्थित चौकी डाँडा, जति रमणीय छ, त्यति नै यसको अवस्था दयनीय बन्दै गएको छ । समुन्द्र सतहबाट करिब १२०० मिटरको उचाइमा अवस्थित यो सुन्दर हिल स्टेसनबाट हिमालको लर्कन, सूर्योदय र सूर्यास्तको अनुपम दृश्यावलोकन गर्न सकिन्छ। गणेश, मनासलु, अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि लगायतका हिमशृङ्खला यस स्थानबाट सहजै देखिन्छन्।

प्राकृतिक सौन्दर्यका दृष्टिले चौकी डाँडा चितवन भरतपुर महानगरकै एउटा अनुपम गन्तव्य हो। यहाँको हरियाली, शीतल हावा र शान्त वातावरणले जो कोहीको मन लोभ्याउँछ। बाख्रा र गाईबस्तुको गोठहरू, खेतबारी र पहाडी बस्तीले यस क्षेत्रलाई थप ग्रामीण आकर्षण दिएको छ। तर, सडक खुले पनि समयमै मर्मत संभार नहुँदा वर्षा लाग्ने बित्तिकै स्थानीय बासीले सास्ती खेप्न बाध्य छन्। खानेपानी र अन्य आधारभूत पूर्वाधारको कमीले चौकी डाँडा बासीहरू समस्यामा परेका छन्।

भरतपुरको अधिकांश भूभाग समथर भए पनि चौकी डाँडा भौगोलिक दृष्टिले पहाडी स्वरूपको छ। यहाँबाट हिमाल, पहाड र तराई क्षेत्रका दृश्य एकै स्थानबाट हेर्न सकिन्छ। जो कोही पर्यटक यहाँ पुगेपछि यो स्थलको सौन्दर्यमा मोहित हुन्छ। प्राकृतिक, सांस्कृतिक र जैविक विविधता यस क्षेत्रको मुख्य सम्पदा हो।

स्थानीय बासिन्दा र पर्यटन व्यवसायीहरूका अनुसार चौकी डाँडा पारिवारिक घुमघाम, पिकनिक र टुगेदरनेसका लागि उपयुक्त गन्तव्य हो। गर्मी समयमा जब भरतपुरमा तातो र उमसिलो मौसमले जनजीवन कष्टकर हुन्छ, त्यति बेला चौकी डाँडामा भने शीतल हावा चलिरहेको हुन्छ। करिब १७ डिग्री सेल्सियसको औसत तापक्रममा रहेको यो स्थल ‘भरतपुरकै हिल स्टेसन’ को रूपमा परिचित बन्दै गएको छ। सडक सञ्जाल जोड्ने र गढीको पहिचान बनाउन भरतपुर महानगर सक्रिय भए पनि स्थानिय व्यवसायीहरूले चासो र सक्रियता नबनाउँदा यो ओझेलमा परेको मेयर रेनु दाहालले बताउनु भयो।

भरतपुरबाट सडक मार्ग हुँदै चौकी डाँडा पुग्न करिब २६ किलोमिटर यात्रा गर्नुपर्छ। प्राकृतिक सुन्दरता र रमणीय हावापानीका कारण पछिल्लो समय यो गन्तव्य आन्तरिक तथा बाह्य दुवै पर्यटकको रोजाइमा पर्न थालेको छ। चौकी डाँडाबाट राप्ती भ्यालीको झलमल्ल दृश्य हेर्दा दार्जिलिङ, सिक्किम वा युरोपका दृश्यहरूको झल्को मिल्छ।

चौकी डाँडा टोल विकास संस्थाका विवश गुरुङका अनुसार, “यो ठाउँ प्राकृतिक दृश्यावलोकनका हिसाबले अत्यन्तै उत्कृष्ट छ। उत्तरतिर हिमशृङ्खला र दक्षिणतिर नारायणगढ, टाडी, पर्सा, मकवानपुर, देव चुली, मौला कालिका र देवघाटसम्मको दृश्य यहाँबाट देखिन्छ।”
तर, पूर्वाधार विकासमा भने सरकारी चासो अभाव रहेको स्थानीयहरूको गुनासो छ। होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तथा पर्यटन व्यवसायी दिनेश कुमार चुके भन्छन्, “नारायणगढ–मुस्लिन सडक खण्डको भोर्लेबाट नौ किलोमिटर दुरीमा रहेर पनि चौकी डाँडाको विकासमा प्रदेश र स्थानीय सरकारको ध्यान नपुगेको दुःखद कुरा हो। उचित लगानी भयो भने यो गन्तव्यले चितवनको पर्यटनमा नयाँ सम्भावना खोलेको हुन्छ।”

स्थानीय पत्रकार रमेशकुमार पौडेलका अनुसार चौकी डाँडा शान्त र हरियाली वातावरण भएकोले परिवारका साथ घुम्न, पिकनिक गर्न वा प्राकृतिक दृश्यावलोकनमा रमाउन अत्यन्तै उपयुक्त स्थान हो। उनले भने, “यहाँको भ्यू टावरबाट सूर्योदय, सूर्यास्त र हिमालको दृश्यले हरेक आगन्तुकको मन मुटुमा प्रेमको मिठास घोलेर नयाँ ऊर्जा दिन्छ।”

प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदाले भरिएको चौकी डाँडा भरतपुर महानगर–२९ को प्रमुख पर्यटन सम्पदा हो। हिमाल, अग्ला पहाड, वन जङ्गल, नदी, झरना, धार्मिक स्थल, र विभिन्न जातजातिका जीवनशैली र संस्कृतिले यस क्षेत्रलाई अद्वितीय बनाएको छ।

सही व्यवस्थापन, पूर्वाधार विकास र प्रचार–प्रसारमा ध्यान दिइयो भने चौकी डाँडा निकट भविष्यमा चितवनकै प्रमुख पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना प्रस्ट देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.