धनकुटाका जिल्लाकै सफल कृषकको परिचय बनाउँदै दुई वडा अध्यक्षहरु

धनकुटा- धनकुटाको धनकुटा नगरपालिका वडा नं. २ का चन्द्रलाल तामाङ र महालक्ष्मी नगरपालिका वडा नं. १ का टेक बहादुर गुरुङ जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषि कर्ममा समेत सक्रिय हुनुहुन्छ । दुवै जना वडा अध्यक्षको लागि जनताको मतबाट दोस्रो कार्यकाल समालि रहेका व्यक्ति हुन् । उहाँहरूले वडामा बसेर जनताको दैनिक काम र गुनासा सम्बोधनसँगै बचेको समय तरकारी खेती र पशुपालनबाट मनग्गे आम्दानी गरिरहनु भएको छ। उहाँहरूले जनताको सेवाबाट सफल जनप्रतिनिधिसँगै सफल कृषक, तथा युवाहरूका लागि प्रेरणाका स्रोत बन्नुभएको छ। उहाँहरूले गरेको कृषि कर्म र समाज सेवाले साँच्चै सबैलाई लोभ्याउने गरेको छ।
तामाङले मेहनती किसान, समाज सेवी र इमानदार जनप्रतिनिधिको रूपमा आफ्नो परिचय बनाउनु भएको छ। बिहान सबेरै उठेर गाईको गोठको कामबाट दिनको सुरुवात गर्ने तामाङको गाई फार्मबाट दैनिक १८० लिटर दूध उत्पादन हुन्छ। गाउँ मै केही गरेर देखाउने सोच लिएर कृषि कर्ममा लागेको बताउने तामाङले मेहनत गर्न सक्ने हो भने यही माटोमा सुन फलाउन सकिने बताउनु हुन्छ। युवाहरूले विदेशको सपना होइन, देश मै केही गर्ने सपना देख्नु पर्ने उहाँको भनाइ छ ।
पशुपालनमा मात्र हैन तरकारी खेतीमा पनि तामाङको उल्लेख्य योगदान छ । ताजा तरकारी गाउँ मै उत्पादन गरेर उनले मनग्गे आम्दानी मात्रै होइन, आत्मसम्मान पनि कमाइ रहनु भएको छ । २०७२ साल मै राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भइसक्नु भएका तामाङ २०७४ सालमा वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । वडाको जिम्मेवार थपिए पछि दैनिक बिहान ५ बजे उठ्ने गरेको भए पनि अहिले बिहान ३ बजे उठ्नु पर्ने भएको तामाङ बताउनु हुन्छ । श्रीमती रामकुमारी तामाङले अहिले तामाङलाई कृषि कर्ममा पूर्ण रूपमा साथ दिँदै आउनु भएको छ । तामाङले श्रम घटाउन घाँस काट्ने मेसिन, गाईको थलोमा काउम्याट आदिको प्रयोग गर्दा निकै फाइदा पु¥याएको बताउनु हुन्छ ।
यस्तै महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुरुङको दैनिकी पनि उस्तै छ । गुरुङ पनि २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भई सके पछि पनि आम नागरिकको सेवासँगै कृषि कर्मलाई निरन्तरता दिँदै आउनु भएको छ । गुरुङले लामो समय देखि तरकारी खेती तथा गाई पालन गर्दै आउनु भएको हो ।
उहाँले वार्षिक ५० देखि ६० लाखको लक्ष्य लिएर तरकारी खेती गर्दै आएको बताउनु भयो । तर, तरकारी बजार भाउ भने जस्तो नहुँदा समस्या हुने गरेको छ । कुनै समय राखेको लक्ष्य भन्दा माथिको तरकारी बिक्री हुने तथा कुनै समय लगानी समेत नउठ्ने समस्या हुने गरेको गुरुङको भनाइ छ । तैपनि वार्षिक सरदर ३० लाखसम्मको तरकारी बिक्री हुने गरेको गुरुङको भनाइ छ । तरकारी खेती बाहेक दैनिक दूध बिक्रीबाट पनि राम्रो आम्दानी गरी रहेको उहाँको भनाइ छ । दैनिक ४५ लिटर दूध बिक्री गर्दै आएको गुरुङले बताउनु भयो । सरकारले कृषिमा चासो नदिँदा कृषि उपजको बजारीकरणको समस्या हुने गरेको बताउँदै गुरुङले बिचौलियाको नियन्त्रणमा बजारलाई जान नदिए सहज हुने बताउनु भयो ।
उहाँले वडा अध्यक्ष भए पछि वडामा गोठ सुधार कार्यक्रम, अनुदानमा घाँस काट्ने मेसिन, अनुदानमा मिनिटिलर वितरण सहित वडामा रहेका ८ वटा टोलमा ५÷५ वटा उन्नत जातको गाई वितरण गरेको जानकारी दिनुभयो । यस्तै वडाका हरेक घरमा ४ सय लिटरको पानी तताउने मेसिन वितरण गर्ने र गाई दुहुने मेसिन वितरणको तयारी रहेको जानकारी दिनुभयो । महालक्ष्मी नगरपालिका वडा नं. १ मा ८० प्रतिशत परिवार व्यावसायिक रहेको र दैनिक ६ लाख रुपैयाँ बराबरको दूध उत्पादन हुने गरेको गुरुङको भनाइ छ ।
तामाङ र गुरुङ २०७४ सालमा पहिलो पटक र २०७९ सालमा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । कृषि कर्ममा तल्लीन रहेका उहाँहरूले २०७४ मा वडाध्यक्षमा निर्वाचित भए पछि जनताको सेवामा पनि कमी हुन नदिएको २०७९ सालमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुले देखाएको छ। वडाको जिम्मेवारी सकिए पछि पुरा समय कृषिलाई दिएर अझै बढी आम्दानी र रोजगारी सिर्जना गर्ने योजना रहेको तामाङ र गुरुङको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्