गुल्मीमा दूध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

गुल्मी – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा जिल्लाभरिका दूध, माछा तथा मासु उत्पादक र बिक्रेताहरूसँग स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल कार्यक्रम गरिएको छ । जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकाबाट आएका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा स्वच्छ उत्पादन, भण्डारण, ढुवानी तथा बजार व्यवस्थापनका चुनौतीहरूमाथि केन्द्रित थियो ।
कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले स्वच्छ दूध, माछा तथा मासु उत्पादन र बजार व्यवस्थापन विषयक विस्तृत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले पशुपालन क्षेत्र आर्थिक समृद्धिको मुख्य आधार भएको भन्दै उत्पादनमा स्वच्छता, पोषण, स्वास्थ्य व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
पाण्डेले गोठदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा हुने जोखिमहरू पहिचान गरी सही तरिकाले समाधान गर्न सके जिल्लामा गुणस्तरीय पशुजन्य उत्पादन उपलब्ध गराउन सकिने बताउनुभयो । कार्यक्रमका सहभागी उत्पादक र बिक्रेताहरूले आफ्ना समस्या र अनुभवहरू विस्तृत रूपमा राख्नु भएको थियो ।
दुग्ध बिक्रेता रबीलाल पन्थले दूध तथा मासु ढुवानीका क्रममा अपहेलनाको सामना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । धेरै कृषकहरू र रोजगारीसँग जोडिएको यस पेसा गर्ने कृषकलाई गरिने व्यवहार तुच्छ खालको रहेको उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा दुग्ध उत्पादक कृषक साबित्रा भण्डारीले पशु प्राविधिक समयमै नपाइने, गाईका बाच्छा बाच्छी व्यवस्थापनमा कठिनाइ भोग्दै आएको बताउनुभयो । कृषकले समयमै पशु प्राविधिक र औषधी पाएमा अन्य अनुदानका कार्यक्रम नभए पनि हुने जस्ता समस्या राख्दै तिनको दीर्घकालीन समाधानका लागि सरकारी निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका वरिष्ठ मत्स्य विकास अधिकृत विष्णुप्रसाद खनालले स्वच्छ दूध, माछा तथा मासु उत्पादनका विधि, रोग न्यूनीकरण तथा सुरक्षित बजार पहुँचका उपायहरूबारे महत्त्वपूर्ण जानकारी राख्नु भएको थियो । उहाँले जीवजन्य उत्पादनमा साना त्रुटिले पनि उपभोक्ताको स्वास्थ्यमा ठुलो जोखिम निम्त्याउन सक्ने भन्दै उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृङ्खलामा स्वच्छता र मापदण्ड पालना गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहभागीहरूले जिल्लामा क्रियाशील उत्पादन समूह, सहकारी तथा व्यवसायीबिच साझेदारी र सहकार्य विस्तार गर्नुपर्ने सुझाव राखेका थिए । यस कार्यक्रमले जिल्लाभर गुणस्तरीय र सुरक्षित खाद्य पदार्थको उत्पादन तथा आपूर्ति प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको कार्यालयमा प्राविधिक सहायक रिमबहादुर रोकायाले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्