इस्मामा पहिलो पटक पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु

गुल्मी – गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु गरिएको छ ।
इस्मा–१ र २ को संगमस्थल छल्दी खोला किनारमा निर्माणाधीन जैढुंगा बिपी पार्कस्थित क्रिकेट मैदानमा प्रतियोगिता आरम्भ भएको हो । पालिकाले निर्माण गरेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदानमा प्रतियोगिता सुरु हुन थालेका छन् । परिवर्तन युवा क्लब, इस्मा–१ हस्तिचौरको आयोजनामा सुरु गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमा इस्मा गाउँपालिका रहेको छ ।
प्रतियोगितामा जिल्लाभरका १२ वटा समूहले सहभागिता जनाएको क्लबले जनाएको छ । खेलको माध्यमबाट युवाहरूलाई सकारात्मक मार्गदर्शन गर्ने र खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाई ५५ हजार रुपैयाँ र उप–विजेता टिमलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्लब खेल संयोजक आशिष् पन्थीले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का लगायत वडा अध्यक्ष स्थानीय, खेलकुद प्रेमी, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक खेलहरू उत्साहजनक रूपमा सुरु भएका छन् । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बिपी पार्क’ गरेको हो ।
पालिका भित्र खेल क्षेत्रको विकाससँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले छल्दी खोलामा पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । छल्दी खोलाको किनारमा निर्माण भएको खेल मैदान सहितको पार्क जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य पालिकाले लिएको छ ।
पार्क तथा खेल मैदान ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । अहिले पार्कको ग्राउन्ड मिलाउने, वालि निर्माण, घेरा बार निर्माणको काम सम्पन्न भएका छन् ।
पार्कमा खेल मैदान तयार गर्न दुबो रोपिएको छ । खेल मैदान सहितको पर्यटकीय पार्कले इस्मा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आनन्द लिने स्थलका रूपमा विकास हुने गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।
पार्क भित्र पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पोर्ट, सुइमिङ्ग, बिचबिचमा पैदलमा मार्ग शौचालय, टिकट काउन्टर, पार्किङ संरचना रहनेछन् ।
पार्क निर्माणका लागि गाउँपालिकाले पछिल्लो चरणमा १ करोड २५ लाखको लागतमा विभिन्न संरचना निर्माणको लागि काम भएको छ ।





प्रतिक्रिया राख्नुहोस्