आइसीसी टी-२० विश्वकपः जिम्बाबे पहिलोपटक सुपर बाह्रमा, वेष्टइन्डिज पहिलो चरणबाटै बाहिरियो

जिम्बाबे पहिलोपटक आइसीसी विश्वकप टी-ट्वान्टी २०२२ को सुपर बाह्रमा पर्न सफल हुँदा दुई पटकको विजेता वेष्टइन्डिज भने पहिलो चरणबाटै बाहिरिएको छ ।

वेष्टइन्डिज आयरल्याण्डसँग हिजोको खेलमा पराजित हुँदै विश्वकपको पहिलो चरणबाटै बाहिरिएको हो । यो सँगै सुपर बाह्रमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।

श्रीलंका, नेदरल्याण्ड्स, जिम्बाबे र आयरल्याण्डले पहिलो चरण पार गर्दै अन्तिम सुपर बाह्रमा आफ्नो स्थान पक्का बनाएका हुन् । जिम्बाबेले स्कटल्याण्डलाई हिजोको खेलमा पाँच विकेटले पराजित गर्दै पहिलोपटक विश्वकपको सुपर बाह्रमा आफ्नो स्थान पक्का बनाएको हो ।

विश्वकप २०२२ को दोस्रो चरण अर्थात सुपर बाह्रका खेलहरु आजबाट अष्ट्रेलियामा सुरु हुँदैछ । आजको पहिलो खेलमा आयोजक राष्ट्र अष्ट्रेलिया न्युजिल्याण्डको सामना गर्दैछ । त्यसैगरी आजै खेलिने दोस्रो खेलमा भने इङ्ल्याण्ड र अफगानिस्तान आमने सामने हुँदैछन् ।

सुपर बाह्रको समूह ए मा इङ्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानिस्तान, श्रीलंका र आयरल्याण्ड रहेका छन् । त्यसैगरी समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बाबे र नेदरल्याण्ड रहेका छन् ।

समूह बी अन्तर्गतको पहिलो खेल भोलि भारत र पाकिस्तानबीच खेलिंदैछ । नेपाली समय दिउँसो १.४५ बजे खेलिने उक्त खेल भने क्रिकेट प्रेमीहरुका लागि निकै रोचक हुने अनुमान गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.