इटहरी गोल्डकपको उपाधि सगरमाथालाई

सुनसरी- तेह्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेको छ ।

इटहरी रङ्गशालामा सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइज काठमाडौँलाई पेनाल्टी सुटआउटमा ६-५ गोलअन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको हो । खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

दोस्रोपटकका लागि लगातार विजेता रहेको सगरमाथा युथ क्लबका लागि पेनाल्टीमा विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गर्न सफल भए ।

त्यसैगरी चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिङ्क ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, पिरिसोले गोल गर्दा मनोज राईको प्रहार गोलपोष्ट बाहिर गयो । सुरुमा दुवै टिमका ५–५ जनाले प्रहार गर्दा सबैको गोल भएको थियो । पेनाल्टीमा चर्च ब्वाइजका मनोजको प्रहार जालीबाट बाहिरिएपछि गत वर्षको विजेता सगरमाथाले उपाधि उचाल्न सफल भएको हो ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद रु १० लाखका साथै ट्रफी र मेडल हात पारेको छ । साथै उपविजेता चर्च ब्वाइजले रु पाँच लाख प्राप्त गरेर चित्त बुझायो ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी सगरमाथाका टिम क्याप्टेन महेन्द्र कार्की घोषित भए । उनले नगद रु एक लाख र मेडल पाए । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका मौसम लिम्बू घोषित हुँदै नगद रु १० हजारसहित मेडल हात पारे ।

प्रतियोगितामा वेष्टकोच सगरमाथाका याम गुरुङ घोषित भए । उनले रु २० हजार र मेडल पाए । खेलमा आयोजक क्लबका तर्फबाट उदयीमान खेलाडी आशिष राई घोषित भए । उनले रु २० हजार पाए । साथै उत्कृष्ट गोलकिपरमा सगरमाथाका देव लिम्बू घोषित हुँदै रु २० हजारका साथमा मेडल हात पारे ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा अघिल्लो शनिबारदेखि भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.