दीपेन्द्र आईसीसी टी-२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा

काठमाडौं- नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष दशमा अटाएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १०औं स्थानमा छन् ।

उनले एक स्थान सुधार गरेका हुन् । टी-२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अली नवौं र लियाम लिभिङस्टोन आठौं स्थानमा छन् ।

दीपेन्द्र शीर्ष दशमा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३औं स्थानमा छन् । टी-२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२औं र गुलशन झा ६०औं स्थानमा यथावत् छन् ।

रोहित पौडेल एक स्थान घट्दै ६५औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४औं छन् । टी-२० को बलिङको वरीयतामा सोमपाल कामी ९२औं स्थानमा यथावत् छन् ।

ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५०औं स्थानमा यथावत् छन् । रोहित पौडेल तीन स्थान तल झर्दै ६१औं स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७औं स्थानमा छन् । नेपाल टी २० आई वरीयतामा १७औं स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.